Home मुख्य समाचार मकवानपुरका २,०९८ जना (३६.४७ प्रतिशत) विद्यार्थी कक्षा ११ मा भर्ना हुन योग्य

मकवानपुरका २,०९८ जना (३६.४७ प्रतिशत) विद्यार्थी कक्षा ११ मा भर्ना हुन योग्य

हेटौँडाः माध्यमिक शिक्षा परीक्षा (एसईई) मा मकवानपुर जिल्लाका २ हजार ९८ जना विद्यार्थी कक्षा ११ भर्ना हुन योग्य भएका छन् । राष्ट्रिय परीक्षा बोर्डले बिहिबार सार्वजनिक गरेको नतीजा अनुसार मकवानपुर जिल्लाबाट एसईईमा सहभागी ५ हजार ७ सय ५२ परीक्षार्थीमध्ये २ हजार ९८ जना (३६.४७ प्रतिशत) ११ कक्षा भर्ना हुन योग्य भएको शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरले जनाएको छ ।

मकवानपुर जिल्लाको नतीजा राष्ट्रिय नतीजा भन्दा पनि कमजोर नतीजा देखिएको छ । राष्ट्रिय नतीजाअनुसार ४७.८६ प्रतिशत विद्यार्थी कक्षा ११ मा भर्ना हुन योग्य छन् । मकवानपुर जिल्लाबाट एसईईमा सहभागी ३ हजार ६ सय ५४ जना विद्यार्थी कक्षा ११ भर्ना नपाउने (नन ग्रेडेड– एनजी) भएका छन् । मकवानपुर जिल्लाबाट जीपीए ३.६ देखि ४ सम्म हासिल गर्ने २ सय ५८ जना, जीपीए ३.२ देखि ३.६ हासिल गर्ने ५ सय ९२ जना, जीपीए २.८ देखि ३.२ हासिल गर्ने ७ सय ६५ जना, जीपीए २.४ देखि २.८ हासिल गर्ने ४ सय ५१ जना, जीपीए २.० देखि २.४ हासिल गर्ने ३२ जना रहेको शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरका प्रमुख दीनानाथ गौतमले जानकारी दिनुभएको छ ।

गत चैत १५ गते सुरु भएर चैत २७ गते एसईई सकिएको थियो । एसईईमा एउटा विषयमा मात्रै एनजी हुने ७ सय ३० जना र २ वटा विषयमा एजी हुने ६ सय २५ विद्यार्थी छन् । २ वटा विषयसम्म एनजी हुने विद्यार्थीले ग्रेड वृद्धिका लागि मौका परीक्षा दिन पाउनेछन् । राष्ट्रिय परीक्षा बोर्डले आगामी साउन १८ र १९ गते ग्रेडवृद्धि परीक्षाको तालिका समेत सार्वजनिक गरेको छ ।

Exit mobile version