सांकेतिक तस्वीर ।

हेटौँडाः बागमती प्रदेशको ३ जिल्लामा एकैदिन ३ जनाको मृत्यु भएको छ । प्रदेशको चितवन, सिन्धुपाल्चोक र रामेछाप जिल्लामा एकैदिन ३ जनाको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।

चितवन जिल्लाको भरतपुर महानगरपालिका–७, गौतमचोकमा एक जना पुरुष मृत अवस्थामा फेला परेका छन् । मृत फेला पर्नेमा चितवन जिल्लाको माडी नगरपालिका–६ घर भई चितवन फुटसलमा काम गर्ने २३ बर्षीय अखिल सापकोटा रहेको प्रहरीले जानकारी दिएको छ । सापकोटा मंगलबार दिउँसो ओछ्यानमा सुतिरहेको अवस्थामा मृत फेला परेको प्रहरीले जानकारी दिएको छ ।

यस्तै, सिन्धुपाल्चोक जिल्लाको सांगाचोकगढी नगरपालिका–१, चंलाङ्गे भिरको खोँचमा एक जना पुरुष मृत फेला परेका छन् । मृत फेला पर्नेमा जुगल गाउँपालिका–१, लामीडाँडा बस्ने ३२ बर्षीय दीपक गुरुङ रहेको प्रहरीले जानकारी दिएको छ । गुरुङ सोमबार बिहान ३ बजेको समयमा आफ्नै घरबाट निस्की हिँडेको र सम्पर्कमा नआएको भनी आफन्तले मंगलबार बिहान प्रहरीमा खबर गरेका थिए । खबर पश्चात प्रहरी, स्थानीय र आफन्तसहितको टोलीले खोजतलास गर्दै जाँदा सोही दिन दिउँसो १ बजेर ४० मिनेटको समयमा चंलाङ्गे भिरको खोँचमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

यस्तै, दोलखा जिल्लाको मेलुङ गाउँपालिका–१, पोवटीमा पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा ९ बर्षीय जेम्स तामाङ रहेको प्रहरीले जानकारी दिएको छ । मंगलबार तामाङ घरदेखि ४० मिटर टाढा रहेको पोखरीमा खेल्ने क्रम्मा डुबेर अचेत अवस्थामा फेला परेका थिए । तामाङलाई उपचारका लागि स्थानीय स्वास्थ्य चौकी पोवटीमा पुर्याउँदा डाक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।