बागमती प्रदेश सभा सचिवालय ।

हेटौंडाः बागमती प्रदेश सरकारको बजेट माथिको छलफलका क्रममा प्रतिपक्ष दलहरु आलोचनासहित आक्रमक बनेका छन् । प्रतिपक्ष दलका सांसदहरुले सरकारको बजेट माथि खरो टिप्पणी गर्दै आक्रमक शैलीमा प्रस्तुत भएका थिए ।

सरकारको बजेट सन्तुलित नभएको र नागरिक लक्षित कार्यक्रम ल्याउन नसकेको भन्दै उनीहरुले आलोचना गरेका थिए । उनीहरुले राज्य व्यवस्थालाई नै कमजोर पार्नेगरी सरकारले बजेट कार्यक्रममा हालीमुहाली गरेको बताए । प्रदेशका मन्त्रीहरु निर्वाचन क्षेत्र केन्द्रित हुँदा नागरिकको अपेक्षा र प्रदेशका आवश्यकताका विषयहरु छुटेको उनीहरुको भनाइ छ । उनीहरुले प्रदेश सरकारको बजेट मन्त्रीमुखी भएको आरोप लगाए ।

संसदबाट कम्युनिष्टलाई माक्र्सवाद पढाउँदै कांग्रेस
बैठकमा बजेट माथिको छलफलमा भाग लिँदै नेपाली कांग्रेसका सांसद रामकुमार पहाडीले माक्र्सवादको वकालत गर्ने कम्युनिष्ट पार्टीहरुले नै समाजमा वर्ग निर्माण गरिरहेको बताउनुभयो । माक्र्सवादले समाजमा वर्ग विहीनको सिद्धान्त लिए पनि कम्युनिष्टहरुले त्यसको सामान्य मूल्यसमेत राख्न नसकेको उहाँले टिप्पणी गर्नुभयो । उहाँले संविधान विपरित गएर सरकारले काम गरिरहेको आरोप लगाउनुभयो । सरकारको बजेट पिछडिएको क्षेत्र, भूगोलमा केन्द्रित गर्नुपर्ने संवैधानिक प्रावधान विपरित गएर काम गरेको उहाँको भनाइ छ ।

कांग्रेसकै सांसद कुन्दनराज काफ्लेले प्रदेश सरकारले बजेटलाई पार्टीगत बनाएको आरोप लगाउनुभयो । दिगो विकास र प्रदेशको समृद्धिका योजनामा बजेट केन्द्रित गर्न सरकार असक्षम भएको उहाँको भनाइ छ । प्रदेश सरकारको कारण संस्थागतको लयमा रहेको संघीयता सुधार गृहमा पु¥याउने काम भइरहेको उनले बताए । सरकारको गतिविधि र बजेट कार्यक्रम व्यवस्था बलियो बनाउनेतर्फ केन्द्रित गरिनुपर्ने सांसद काफ्लेले बताउनुभयो ।

बैठकमा नेपाली कांग्रेसका सांसद श्याम खड्काले नेपाल सरकार टाट पल्टने अवस्थामा रहेको टिप्पणी गर्नुभयो । नेपाल सरकारको कुल बजेट भन्दा वैदेशिक ऋण बढी रहेको उहाँले बताउनुभयो । सांसद खड्काले नेपाल सरकारको बजेट १८ खर्ब रहेको र वैदेशिक ऋण २४ खर्ब रहेको बताउनुभयो । यथास्थिति रहेको खण्डमा सरकार आर्थिकरुपमा टाट पल्टने निश्चित रहेको उहाँको भनाइ छ ।

‘सरकारको बजेट अनुत्पादक क्षेत्रमा खर्च भइरहेको छ । देशमा ऋणको भार थपिँदै गएको छ । सरकारको आय छैन, व्ययमात्र बढिरहेको छ । उत्पादनमुखी कार्यक्रम ल्याउन सरकार असक्षम बनेको छ’, सांसद खड्काले भन्नुभयो– ‘बागमती प्रदेश सरकारको बजेट बालुवामा पानी खन्याएसरह रहेको छ । सरकारको बजेटमा स्पष्ट कार्यक्रम छैन । सरकारको बजेट उपलब्धीहिन क्षेत्रमा लगानी भइरहेको छ ।’ उहाँले बागमती सरकारको खर्च गर्ने सामथ्र्य नरहेको बताउनुभयो । प्रदेश सरकारले हरेक वर्ष ६६ प्रतिशतमात्र बजेट खर्च गर्दै आएको उहाँको भनाइ छ ।

छलफलका क्रममा बोल्दै कांग्रेस संसदीय दलका उपनेता रामकृष्ण चित्रकारले सरकार प्रदेशसभाप्रति जिम्मेवार बन्न नसकेको आरोप लगाउनुभयो । प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ७ अर्ब घाटाको बजेट ल्याएको उहाँले बताउनुभयो । प्रदेशका मन्त्रीहरुका कारण नागरिकले बजेटमाथि गरेको अपेक्षा व्यर्थ भएको र हाटबजारमा तरकारी किन्दा हुने बार्गेनिङजस्तो प्रदेश सरकारको बजेटमा आएको उहाँले बताउनुभयो । प्रदेशका नागरिकहरुले बजेटमार्फत् दिगो आर्थिक विकास खोजेको उहाँले बताउनुभयो । नागरिकको अपेक्षा विपरित सरकारले बजेट ल्याएर प्रदेशको समृद्धि गुमाएको उहाँको भनाइ छ ।

उहाँका अनुसार बजेटमा प्रतिपक्षले उठाएको सबल अर्थतन्त्रका लागि रोजगारी सृजना गर्न, उत्पादन र उत्पादकत्व वृद्धि, राजस्व वृद्धिको मोडल रहेको भएपनि सरकार त्यस विषयमा जिम्मेवार बन्न सकेको छैन । सरकारले आर्थिक समृद्धि, रोजगारी सृजना, उत्पादन वृद्धिका विषय बजेटमा समेट्न नसकेको उहाँको भनाइ छ ।

सांसद र मन्त्रीहरु ठेकेदार बनेः राप्रपा
बागमती प्रदेशसभा सदस्य एव् राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बागमती प्रदेश संसदीय दलका उपनेता गिरबहादुर तामाङले सांसद र मन्त्रीहरु ठेकेदार बनिरहेको बताउनुभयो । उहाँले संसदीय भूमिका छोडेर बजेटको हिसाबकिताब र भागबण्डामा केन्द्रित भएको आरोप लगाउनुभयो । सरकार र मन्त्रीहरुले नागरिकलाई डिप्रेसनमा पुग्नेगरी टर्चर दिइरहेको उहाँले बताउनुभयो । उहाँले सांसदहरुलाई सर्कसको जोक्करसँग तुलना गर्नुभयो । संसदीय भूमिकामा रहने सांसदहरु बजेट कार्यक्रममा मात्र केन्द्रित भएको उहाँको भनाइ छ । सांसदहरुले बजेटमा मात्र ध्यान दिएर नहुने भन्दै उहाँले नीति, कानुन निर्माणमा सांसदले ध्यान दिन आग्रह गरे ।

राप्रपा बागमती प्रदेश संसदीय दलका नेता उद्धव थापाले बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेट पक्षपाती ढङ्गबाट आएको बताउनुभयो । उहाँले बजेटले नागरिकहरुको अपेक्षालाई समेट्न नसकेको र मन्त्रीको मनोमानी ढंगबाट कार्यक्रमहरु समावेश गरिएको बताउनुभयो ।

उहाँका अनुसार समानुपातिक र समावेशीका आधारमा बजेट नल्याएर प्रदेश सरकारले अहिलेको बजेट धादिङ, चितवन, मकवानपुर र सिन्धुपाल्चोकमा मात्र बढी केन्द्रित भएको छ । उहाँले स्वदेशमा रोजगारी सिर्जना गर्ने खालको बजेट नआएको बताउनुभयो ।

बैठकमा बोल्दै राप्रपा संसदीय दलकी प्रमुख सचेतक कुमारी तामाङले बजेट असन्तुलितसँगै अनियमितासमेत भएको बताउनुभयो । सो विषयको छानविन गरी अनियमितता गर्नेहरुलाई कारवाहीको दायरामा ल्याउन उहाँले माग गर्नुभयो । उहाँका अनुसार सरकार अवण्डामा पैसा राखेर कार्यकर्तालाई अनुदान बाँड्न सक्रिय भएको आरोप लगाउनुभयो ।

नेपाल मजदुर किसान पार्टी (नेमकिपा) संसदीय दलका नेता सुरेन्द्रराज गोसाईले प्रदेश सरकारको बजेटले जनताको आकांक्षा पूरा गर्न नसक्ने बताउनुभयो । सरकारको बजेट समाजवादउन्मुख र प्रगतिशील नभएको उहाँको भनाइ छ । बजेटको आधारमा सरकार अपारदर्शी, पक्षपाती भएको उहाँले बताउनुभयो । नेमकिपा सांसद गीता काफ्लेले सरकारको बजेटमा बिचौलिया पसेको बताउनुभयो । उहाँले नागरिक लक्षित प्रदेशको समृद्धिको योजना भन्दा बिचौलिया पाल्ने बजेट ल्याएको उहाँले बताउनुभयो ।

रक्षात्मक सत्तापक्षका सांसद
माओवादी केन्द्रका सांसद ठाकुरप्रसाद ढकालले प्रदेश सरकारको बजेटले कृषि, शिक्षा र स्वास्थ्य क्षेत्रमा परिवर्तनको आशा छरेको बताउनुभयो । शिक्षाको गुणस्तर, स्वास्थ्य सेवा प्रवाहको स्तरीयता र उत्पादन वृद्धिमा सरकारले नयाँ ढंगको कार्यक्रम ल्याएको र सोबाट प्रदेशको समृद्धिमा फड्को मार्न सकिने उहाँको भनाइ छ । उहाँले पर्यटन प्रवद्र्धनमा सरकारले ल्याएको बजेटले नयाँ ढंगको विकासको लय समातेको बताउनुभयो ।

सांसद युवराज चौलागाईले नीति तथा कार्यक्रमलाई बजेटले सम्बोधन गर्न नसक्नु सरकारको कमजोरी रहेको बताउनुभयो । उहाँले सरकारको बजेट आम नागरिकको हितमा रहनुपर्ने बताउनुभयो । बजेटले भौगोलिक सन्तुलन कायम गर्न नसकेको र विगतका सरकारकै लयमा अहिलेका मन्त्रीहरुले बजेट कार्यक्रम केन्द्रित गरेको उहाँको भनाइ छ । आर्थिक अवस्थाको कारण सरकारको बजेटमा चुनौती रहेको उहाँको भनाइ छ ।

‘वर्ग विहीनताको सिद्धान्त बोकेर वर्ग निर्माण गरिएको छ । यो हिपोकेसीबाट अलग हुनुपर्छ’, उहाँले भन्नुभयो, ‘आर्थिक वृद्धि कमजोर छ । राजस्वको अवस्था न्यून रहेको छ । पुँजीगत खर्चको अवस्था कम रहेको छ । अन्यको तुलनामा प्रदेश सरकारले केही नयाँ कार्यक्रमलाई प्राथमिकतामा राखेको छ । टुक्रे बजेटलाई निरुत्साहित गर्ने प्रयत्न रहेको छ ।’
नेकपा माओवादी केन्द्रको संसदीय दलका मुख्य सचेतक रत्नप्रसाद ढकालले प्रदेश सरकारले विकासको स्पष्ट नीति निर्माण गर्नुपर्ने बताउनुभयो । उहाँले प्रदेश आयोजना बैंक निर्माण गरी योजना छनौटको प्रणाली विकास गर्ने काम नीतिगतरुपमा गर्नुपर्ने बताउनुभयो । प्रदेशको आवश्यकता र भौगोलिक अवस्थाको विषयमा प्रदेशसभामा छलफल हुन जरुरी रहेको उहाँको भनाइ छ ।

बजेटबाट केही विषयहरु प्रदेश सरकारले सुधार गर्ने प्रत्यन गरेको उहाँले बताउनुभयो । प्रदेश सरकारको स्रोत र साधनको अधिनमा रहेर बजेट बनाएको उहाँको भनाइ छ । उहाँका अनुसार नागरिकको अपेक्षा संघमा भन्दा प्रदेश सरकारसँग बढी रहेको छ ।