हेटौंडाः बागमती प्रदेशको २ जिल्लामा एकैदिन ३ जनाको मृत्यु भएको छ । प्रदेशको चितवन र सिन्धुली जिल्लामा एकैदिन ३ जनाको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जानकारी दिएको छ ।
चितवन जिल्लाको भरतपुर महानगरपालिका–३, बाह्रघरेमा एक जना पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा निमार्णाधीन देउराली तालको (पानी नभएको) छेउमा बस्ने २९ वर्षीय बुद्धबहादुर विक रहेको प्रहरीले जानकारी दिएको छ ।
सोमबार साँझ ६ बजेर २० मिनेटको समयमा विक लडिरहेको अवस्थामा फेला परेका थिए । विकलाई उपचारका लागि भरतपुर सरकारी लगिएकोमा डाक्टरले मृत घोषणा गरेका हुन् ।
यस्तै, चितवन जिल्लाको भरतपुर महानगरपालिका–१२, सुनगाभा टोलमा लागूऔषधसहित अचेत अवस्थामा फेला परेका पुरुषको मृत्यु भएको छ । सोमबार भित्री सडकखण्डमा बा ४१ प ९०६९ नम्बरको मोटरसाइकल चालक नामथर नखुलेको अन्दाजी ४५ वर्षीय पुरुष अचेत अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ ।
उनलाई उपचारका लागि भरतपुर सरकारी अस्पताल लगिएकोमा उपचारको क्रममा डाक्टरले मृत घोषणा गरेका थिए । प्रहरीले पुरुषको साथबाट लागूऔषध प्रोमेथिन १ एम्पुल, बुप्नेरोफाइन १ एम्पुल, सिरिन्ज १ थान र ३ थान मोबाइल फेला पारेको प्रहरीले जानकारी दिएको छ । मुचुल्कालगायत अन्य अनुसन्धान कार्य भइरहेको प्रहरीले जानकारी दिएको छ ।
सिन्धुली जिल्लाको गोलन्जोर गाउँपालिका–७, खुर्कोट तल्लो बजारस्थित सुनकोशी नदी किनारामा एक जना पुरुष मृत फेला परेका छन् । सोमबार बिहान ९ बजेर २० मिनेटको समयमा नामथर नखुलेको अन्दाजी ४० वर्षीय पुरुष मृत अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ । मुचुल्कापश्चात् शव पोष्टमार्टमका लागि शिक्षण अस्पताल महाराजगञ्ज, काठमाडौं लगिएको छ ।