कांग्रेस संसदीय दलका उपनेता रामकृष्ण चित्रकार

हेटौँडाः बागमती प्रदेशसभा बैठकमा २ मन्त्री अनुपस्थित भएपछि प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले नियमापक्ति गरेको छ । बैठकमा बजेट माथिको छलफलका क्रममा मन्त्रीको अनिवार्य उपस्थिती रहने नियम रहेको र मन्त्रीहरु अनुपस्थित रहेको भन्दै कांग्रेस संसदीय दलका उपनेता रामकृष्ण चित्रकारले नियमापत्ति गर्नुभएको हो ।

उहाँले प्रदेशसभा निमयमावलीको परिच्छेद ३ अनुसार बजेट माथिको छलफलका क्रममा सम्बन्धीत मन्त्री अनिवार्य उपस्थित हुनु पर्ने व्यवस्था रहेकाले उक्त विषयमा नियमापत्ति गर्नुभएको थियो । उहाँले मन्त्रीको अनुपस्थितीमा बजेट माथिको छलफल अघि बढ्न नसक्ने भन्दै बजेट रोक्न माग गर्नुभएको हो ।

उपनेता चित्रकारको नियमापत्ति पछि प्रदेशसभाका सभामुख भुवन कुमार पाठकले मन्त्रीको अनिवार्य उपस्थितीका लागि सरकारको ध्यानाकर्षण गराउँदै रुलिङ गर्नुभएको थियो । उहाँको रुलिङपछि प्रदेशसभा सदस्य मायादेवी शर्मालाई बजेट माथिको छलफलका लागि बोल्न समय दिएको थियो । तर, उपनेता चित्रकारले मन्त्रीको अनुपस्थितीमा बजेट माथिको छलफल हुन नसक्ने नियम स्पष्ट नियमावलीमा उल्लेख भएकाले बैठक स्थगित गर्न वा २ मन्त्रालयको बजेट माथिको छलफल कार्यसूचिबाट हटाउन माग गर्नुभएको छ ।

सो लगत्तै सभामुख पाठकले आर्थिक मामिला मन्त्रीलाई अधिकार प्रत्यायोजन गरेको र सो मन्त्रालय माथिको प्रश्न टिपोर्ट गर्ने व्यवस्था रहकाले छलफल अघि बढाउन रुलिङ गर्नुभयो । तर, कांग्रेस उपनेता चित्रकारले नियमा स्पष्ट व्यवस्था भएकाले छलफल अघि बढ्न नसक्ने भन्दै पुनः आफ्नो माग दोहो¥याउनु भयो । सो पश्चात सभामुख पाठकले श्रम रोजगार तथा यातायात मन्त्रालय र संस्कृति पर्यटन तथा सहकारी मन्त्रालयको बजेट माथिको छलफल संसदको कार्यसूचिबाट हटाइए पश्चात प्रदेशसभा बैठकले निरन्तरत पाएको छ ।

प्रदेशसभा बैठकमा श्रम रोजगार तथा यातायात मन्त्री लक्ष्मण लम्साल र संस्कृति पर्यटन तथा सहकारी मन्त्री शैलेन्द्रमान बज्राचार्य बैठकमा अनुपस्थित रहेका थिए ।

प्रदेशसभा बैठकमा स्वास्थ्य मन्त्रालय, उद्योग वाणिज्य भुमि तथा प्रशासन मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, खानेपानी उर्जा तथा सिंचाई मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालयको बजेट माथिको छलफल भइहरेको छ ।