हेटौँडाः मकवानपुरमा जंगली च्याउ खाँदा गर्दा एक सातामा ३ जनाको मृत्यु भएको छ भने १६ जना बिरामी परेका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार यही असार ३ गतेदेखि १० गतेसम्मको अवधीमा जंगली च्याउ खाँदा ३ जनाको मृत्यु भएको हो ।

जंगली च्याउ खाएर ४ जना गम्भीर बिरामी भई उपचाररत छन् भने ४ जना सामान्य बिरामी र ८ जना उपचार पश्चात डिस्चार्ज भएका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक सीताराम रिजालका अनुसार जंगली च्याउ सेवन गर्दा गत असार ८ मा कैलाश गाउँपालिका–८ का ४ बर्षीय दिपेश लामा, असार ९ गते कैलाश–९ की निरुमाया रुम्बा र राक्सिराङ–७ दुगुवाङका बल बहादुर प्रजाको मृत्यु भएको हो ।

असार ३ गते राती ७ बजे कैलाश–९ नामटार बस्ने बिनोद लामा लगायत परिवारका सदस्यले जंगली च्याउ खाँदा निजको छोरा दिपेश लामा बिरामी परेका थिए । च्याउ खाएर बिरामी भएका दिपेशको उपचारका लागि असार ४ गते हेटौँडा अस्पताल ल्याएर सामान्य उपचार पश्चात थप उपचारका लागि चितवनस्थित चितवन मेडिकल कलेज भरतपुर लगिएको थियो । दिपेशको उपचारको क्रममा असार ८ गते साँझ ६ बजे मृत्यु भएको प्रहरी उपरीक्षक रिजालले जानकारी दिनुभयो । दिपेशको अस्पतालबाट घरतर्फ ल्याउने क्रममा मृत्यु भएको हो ।

यस्तै असार ३ गते राती ७ बजे कैलाश–९, नामटारकी २५ बर्षीया निरुमाया रुम्बा जंगली च्याउ खाँदा बिरामी भएकी थिइन् । बिरामी अवस्थामा असार ४ गते हेटौँडा अस्पताल ल्याइएको थियो । हेटौँडा अस्पतालमा सामान्य उपचार पश्चात उनलाई थप उपचारका लागि राती ११ः५० बजे चितवनस्थित चितवन मेडिकल कलेज पुर्याइएको थियो । उनको उपचारको क्रममा असार १० गते राती मृत्यु भएको हो । आर्थिक अभावका कार चितवन मेडिकल कलेजमा उपचार गर्न असार ९ गते दिउँसो ३ बजेको रुम्बाको आफन्तले हेटौँडा अस्पताल फिर्ता ल्याएका थिए ।

असर ९ गते बिहान ६ बजे राक्सिराङ–७, दुगुवाङका बल बहादुर प्रजाले जङगलबाट ल्याएको जङगली च्याउ पकाएर खादा एकै परिवारका ५ जना मानिसहरु बिरामी भएका थिए । च्याउ खाएर बिरामी भएका उनीहरुको उपचारका लागि भरतपुर सरकारी अस्पतालमा पुर्याइएको थियो । उपचारको क्रममा ५५ बर्षीय बल बहादुर प्रजाको साँझ ६ः३५ बजेको समयमा मृत्यु भएको थियो ।

च्याउ सेवनबाट १६ जना बिरामी
राक्सिराङ–७ को घटनामा एकै परिवारका ४ जना गम्भीर बिरामी छन् । प्रहरी अनुसार जंगली च्याउ खाएर मृत्यु भएका बल बहादुर प्रजाकी श्रीमति ४५ बर्षीया जालिमाया प्रजा, छोरी १५ बर्षीया रेन्जु प्रजा र ८ बर्षीया सविना प्रजा र छोरा १० बर्षीय सुशल प्रजा बिरामी परेको प्रहरीले जनाएको छ । च्याउ खाएर बिरामी भएका उनीहरुको अवस्था गम्भीर रहेको राक्सिराङ गाउँपालिकाका स्वास्थ्यकर्मी विजय कापरीले जानकारी दिनुभएको छ । उनीहरुको भरतपुर सरकारी अस्पतालमा उपचार भइरहेको छ ।

त्यस्तै असार ७ गते राती ९ः३० बजे मकवानपुरगढी गाउँपालिका–६, सानुसल्ले र मकवानपुरगढी–५ कालीवनमा जंगली च्याउ (गोब्रे च्याउ) खाँदा ८ जना बिरामी भएका थिए । च्याउ खाँदा मकवानपुरगढी–६, सानुसल्लेका ३२ बर्षीय सानु कान्छा पाख्रिन, २८ बर्षीया सुविता पाख्रिन, ५ बर्षीय सुशान्त पाख्रिन, ११ बर्षीय सोनिया पाख्रिन, ४६ बर्षीय श्याम पाख्रिन, ४३ बर्षीय एलिजा पाख्रिन बिरामी परेका छन् । च्याउ खाँदा मकवानपुरगढी–५, कालीवनका ६ बर्षीय समिर थिङ, १२ बर्षीया सानुकान्छी भुलुन बिरामी परेका थिए । उनीहरुको हेटौँडा अस्पतालमा उपचार पश्चात डिस्चार्ज गरिएको छ ।

असार १० गते बिहान ११ बजेको समयमा राक्सिराङ–८, लाचेको जंगलबाट ल्याइएको च्याउ खाँदा एकै परिवारका ४ जना बिरामी परेका थिए । च्याउ खाँदा राक्सिराङ–८ का २१ बर्षीय भुवल प्रजा, भुवलकी श्रीमती २१ बर्षीया रतिमाया प्रजा, छोरा ३ बर्षीय समिक प्रजा र भाइ १८ बर्षीय पूर्ण प्रजा बिरामी परेका छन् । उनीहरुको भरतपुर अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।