हेटौंडाः मकवानपुर उद्योग वाणिज्य संघले भाडामा दिएका घरको एक महिनाको भाडा छुट दिने घोषणा गरेको छ । कोरोना भाइरसको जोखिम न्यूनीकरण गर्न गत चैत ११ गतेदेखि घोषणा गरिएको लकडाउनका बेला व्यापार, व्यवसाय ठप्प रहँदा उद्योग, व्यवसायको क्षेत्र नराम्ररी प्रभावित हुन पुगेको भन्दै संघले आफ्नो स्वामित्वमा रहेका भवनमा भाडामा लिएर व्यवसाय सञ्चालन गरेका व्यवसायीलाई राहत स्वरुप भाडा छुट दिने घोषणा गरेको जनाएको छ ।
संघ सचिवालय रहेको भवनमा र पल्पसा परिसरमा रहेको कुल २६ वटा पसल कवलको एक महिनाको पसल भाडा छुट गर्ने घोषण बिहिबार गरेको हो । लकडाउन लगायत विभिन्न हिसाबले संघको आयश्रोतमा परिरहेको असरको बाबजुद पनि यो छुटको व्यवस्था गरिएको संघका अध्यक्ष कृष्ण कटुवालले जानकारी दिनुभएको छ ।