व.गोविन्द खड्का तथा डा.गणेशकुमार पौडेलको तस्वीरमा माल्यापण गरिदैको तस्वीर ।

हेटौंडाः साहित्य संगम मकवानपुरको ३ सय ३४ औं नियमित साहित्य सन्ध्या शनिबार सम्पन्न भएको छ । सन्ध्यामा स्व.गोविन्द खड्का तथा डा.गणेशकुमार पौडेलको स्मृतिमा विशेष रचना वाचन कार्यक्रम गरिएको हो ।

संगमका अध्यक्ष डीबी बर्तौलाको सभाध्यक्षता तथा साहित्यकार आरसी रिजालको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । कार्यक्रममा सिस्नुपानी नेपाल मकवानपुरका अध्यक्ष राजकुमार लामिछानेले डा. पौडेलले कर्मथलो हेटौंडालाई बनाउँदै वि.स. २०२५ सालदेखि रचनाहरु लेख्न सुरु गरेको बताउनुभयो । पौडेलले धेरै विधाहरुमा कलम चलाए पनि हास्यव्यङ्ग्य क्षेत्रलाई नै कर्मथलो बनाउँदै ११ वटा कृति प्रकाशन गर्न सफल भएको लामिछानेले बताउनुभयो ।

स्व. पौडेलले २०५६ सालमा मन्त्री पुराण, अतितलाई फर्केर हेर्दा, बुढो गोरुले ओगटेको गाई हास्यव्यङ्ग्य कृति प्रकाशन गर्नुभएको थियो । २०५८ सालमा देवका पनि देव भ्रष्टेश्वर महादेव, २०६१ सालमा प्रतिनिधिसभा स्तोत्रम्, २०६३ सालमा गोरु महापुराण, २०६७ सालमा सुँगुरको महिमा, २०६९ सालमा ६ सय एकको क्रिया गरौँ, २०७१ सालमा तँ को होस्, हामीलाई नै संविधान बनाएन भन्ने ? कृति प्रकाशन गर्नुभएको थियो । २०७२ सालमा आयो महाभूकम्प र २०७३ सालमा मुर्कट्टा नामक हास्यव्यङ्ग्य कृति प्रकाशित भएको उहाँले बताउनुभयो ।

स्व. पौडेलको हास्यव्यङ्ग्य बाहेक १८ वटा कृति रहेको सिस्नुपानी मकवानपुरका अध्यक्ष लामिछानेले बताउनुभयो । मकवानपुरको साहित्य क्षेत्रको विकासमा धेरै पुरस्कारको स्थापना गर्नुभएको स्व. पौडेल धेरै साहित्यिक संस्थाहरुबाट सम्मानित हुनुभएको जनाइएको छ । सर्जक सञ्जाल मकवानपुरका संयोजक निमेष निखिलले स्व. गोविन्द खड्काको बारेमा चर्चा गर्नुभएको थियो ।

नेपाली लेखक संघ मकवानपुरका अध्यक्ष छवि अनित्यले श्यामप्रसाद स्मृति साहित्य सम्मान कार्यक्रममा साहित्यिकभन्दा पनि पार्टीगत कार्यक्रमजस्तो अनुभव गरेको बताउनुभएको छ । उहाँले कार्यक्रममा पार्टीगतरुपले ज्ञवालीलाई श्यामप्रसाद स्मृति साहित्य सम्मान २०८१ बाट सम्मान गरेको अनुभूति आफूले गरेको धारणा राख्नुभयो । साहित्य संगम कुनै पनि राजनीतिक दलहरुसँग नजोडिएको साहित्यिक संस्था भएका कारण पनि पार्टीगत दृष्टिकोण राख्न आवश्यक नरहेको बताउनुहुँदै उहाँले कुनै प्रकारको दवाव आएमा पार्टीलाई त्याग्नुपर्ने बताउनुभयो ।

साहित्य संगम मकवानपुरका सचिव मनोज पोखरेलले संगमले ज्ञवालीलाई पार्टीगत हिसाबले भन्दा उहाँको कामको मूल्यांकन गरेर सम्मान गरेको बताउनुभयो । हेटौंडा उपमहानगरपालिका ४ नम्बर वडा कार्यालयको आर्थिक सहयोगमा हरेक वर्ष श्यामप्रसाद स्मृति साहित्य सम्मान प्रदान गर्दै आएको उहाँले बताउनुभयो । उहाँले थुप्रै रचनाहरु प्रकाशन भएका कारण सम्मान गरेको बताउनुहुँदै अनित्यलाई सल्लाह सुझाव दिएकोमा धन्यवाद व्यक्त गर्नुभयो । उहाँले प्रकाशन भएको कृतिहरुबारेमा बताउनुभएको थियो । ज्ञवालीलाई श्यामप्रसाद स्मृति सम्मान २०८१ बाट २५ हजार रुपैयाँ नगद राशि र सम्मानपत्र प्रदान गरिएको थियो ।

कार्यक्रममा १५ जना साहित्यकारहरुले रचना वाचन गर्नुभएको छ । राजकुमार चौधरीले देश कसरी चल्छ ?, ऋषिराम पाण्डेले च्यात्तिएको गञ्जी, राजकुमार राउतले राई माइलाले गाउँ, सुवास सजलले चौतारो एक, संप्रस पौडेलले आँप, सानु खनालले दोस्रो बाटो र देवराज खरेलले लाज मान्छन् सम्मानपत्रहरु भन्ने शीर्षकमा रचना वाचन गर्नुभएको हो । अनिता पौडेलले मुक्तक र मिथिला अधिकारीले गजल वाचन गर्नुभयो । रमेशमोहन अधिकारी र जनार्दन खनालले पनि रचना वाचन गर्नुभएको थियो ।