हेटौंडाः साहित्यकार प्रदीप ज्ञवालीलाई हेटौंडामा सम्मान गरिएको छ । श्यामप्रसाद स्मृति साहित्य सम्मान २०८१ बाट साहित्यकार ज्ञवालीलाई हेटौंडामा सम्मान गरिएको हो ।

कविता, नाटक, उपन्यास, निबन्धजस्ता बहुविधामा कलम चलाएर लामो समयदेखि प्रगतिवादी लेखनमा महत्वपूर्ण योगदान दिनुभएका ज्ञवालीलाई शुक्रबार हेटौंडा–४ स्थित ओम्याक्स हलमा आयोजित कार्यक्रममा सम्मान गरिएको हो । साहित्य संगम मकवानपुरले हेटौंडा उपमहानगरपालिका ४ नम्बर वडा कार्यालयको आर्थिक सहयोगमा सम्मान गरेको हो । ज्ञवालीलाई नगद २५ हजार रुपैयाँसहित सम्मान गरिएको छ ।

विगतदेखि साहित्य संगम मकवानपुरले श्यामप्रसाद स्मृति सम्मान प्रदान गर्दै आएको संगमका अध्यक्ष डीबी बर्तौलाले जानकारी दिनुभएको छ । ज्ञवालीको ‘चिता जलिरहेछ’, ‘बिना शालिकका नायकहरु’ र ‘आस्था, ओ मेरी प्रिया’ कविता संग्रह छन् । यस्तै, ‘सहयात्री’ (उपन्यास), ‘कुहिरो’ (कथा संग्रह), ‘माक्र्सवादको सिर्जनात्मक प्रयोग’, ‘प्रचण्डपथः विचारको केन्द्रीकरण कि भ्रष्टिकरण’, ‘फिनिक्स पंक्षी र एमालेको पुनर्जीवन’, ‘युवाः एक बहस’, ‘राष्ट्रियता, पहिचान र सामाजिक रुपान्तरणः एक अर्थराजनीतिक बहस’, ‘सांस्कृतिक रूपान्तरणः एक विमर्श’लगायत करिब एक दर्जन कृति प्रकाशित छन् ।

कार्यक्रममा ज्ञवालीले ३ चरणमा ९ वटा एकल कविता वाचन गर्नुभएको थियो । सर्जक सञ्जाल मकवानपुरका संयोजक निमेष निखिल, सुवास खनाल र स्वस्तिका बानियाँले ज्ञवालीको एक–एक वटा कविता वाचन गर्नुभएको थियो भने अजर फुँयाल र आशाकाजी श्रेष्ठले उहाँको गीत गाउनुभएको थियो । गीतकार पुरुषोत्तम आचार्य, हरि पौडेल र विष्म गहतराजले स्थानीय सांगीतिक प्रस्तुत गर्नुभएको थियो । ज्ञवालीको कवितामाथि समीक्षक घनश्याम घिमिरेले समीक्षात्मक टिप्पणी गर्नुभएको थियो ।

यसअघि १५ हजार रुपैयाँ नगद राशि प्रदान गर्दै आएकोमा यस वर्षबाट पुरस्कार राशिको रकम बढाएको संगमका सचिव मनोज पोखरेलले बताउनुभयो । संगमले २०७९ सालमा नवराज शर्मा र २०८० सालमा केदान न्यौपानेलाई सम्मान गरिसकेको छ । संगमका अध्यक्ष बर्तौलाको सभाध्यक्षता तथा ज्ञवालीको प्रमुख आतिथ्यमा कार्यक्रमको उद्घाटन भएको हो । कार्यक्रममा बागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेल, हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मीनाकुमारी लामालगायतको उपस्थिति रहेको थियो । संगमका उपाध्यक्ष सानु खनालले स्वागत मन्तव्य राख्नुभएको थियो ।