हेटौँडाः राजनीतिज्ञ, दार्शनिक एवम् थाहा दर्शनका प्रवर्तक रुपचन्द्र विष्टको २५ औं स्मृति दिवसको अवसरमा हेटौँडामा विचार गोष्ठीको आयोजना गरिएको छ । शुक्रबार नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठान र प्रेस सेन्टर मकवानपुरको संयुक्त आयोजनामा गोष्ठी भएको हो ।
मकवानपुर जिल्लाभित्र सक्रिय पार्टीका नेताहरुको उपस्थितिमा विचार गोष्ठी भएको हो । गोष्ठीमा रुपचन्द्र विष्टको सिद्धान्त, विचार र नीतिबारेमा छलफल भएको थियो । छलफलमा बोल्नुहुँदै रुपचन्द्र विष्ट स्मारक समितिका अध्यक्ष एवम् पूर्वसांसद रामनारायण बिडारीले विष्टको विचार र सिद्धान्तको बारेमा प्रष्ट पार्नुभयो । उहाँले विष्ट गरिबी र अन्य सबै वर्गको नेता भएको बताउनुभयो ।
सबै वर्गको अन्याय र अत्याचारविरुद्ध सधैँ बोल्ने निडर कम्युनिष्ट नेता विष्ट भएको उहाँको भनाइ छ । उहाँले विष्टले जनमुखी संविधान निर्माण गर्नुपर्ने र सार्वजनिक सरोकारको विषय जनताले जान्न पाउनुपर्छ भनेर आवाज बुलन्द पार्ने गरेको बताउनुभयो । फरक सन्दर्भमा उहाँले अहिले देशका नेताहरुले कहिल्यै राजनीति, अर्थनीति र समाजनीतिबारे बहस नगरेकोे बताउनुभयो । राजनीति बलियो नभएसम्म अरु नीति पनि ठिक नहुने उहाँको भनाइ छ । उहाँले दलहरुबीच देश विकास र समाज रुपान्तरणका लागि बहस हुनुपर्ने बताउनुभयो ।
नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठान मकवानपुरका अध्यक्ष नरप्रकाश पौडेलको अध्यक्षतामा भएको गोष्ठीमा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य प्रल्हाद लामिछाने, नेकपा एमाले मकवानपुरका अध्यक्ष श्रीधर पोखरेल, एकीकृत समाजवादी मकवानपुरका अध्यक्ष विष्णु दाहाल, माओवादी केन्द्रका मकवानपुर जिल्ला संयोजक भीम पाख्रिन र नेपाली कांग्रेस मकवानपुर जिल्ला सचिव भीमसेन महतलगायतको उपस्थिति रहेको थियो ।