हेटौंडाः बागमती प्रदेश सरकारले चालु आर्थिक वर्षको तुलनामा आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि बजेट वृद्धि गरेको छ । प्रदेश सरकारले चालु आर्थिक वर्षको तुलनामा १ अर्ब ८४ करोड रुपैयाँ बढीको बजेट प्रस्तुत गरेको हो । चालु आर्थिक वर्षमा ६२ अर्ब ७० करोड रुपैयाँको बजेट प्रस्तुत गरेको प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ६४ अर्ब ५४ करोड ४ लाख रुपैयाँको बजेट ल्याएको छ ।
प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि विनियोजन गरेको कुल बजेटमध्ये चालुतर्फ २६ अर्ब १० करोड १६ लाख रुपैयाँ, पुँजीगततर्फ ३६ अर्ब ९३ करोड ८७ लाख रुपैयाँ र वित्तीय व्यवस्थापनतर्फ १ अर्ब ५० करोड रुपैयाँ रहेको छ । कुल विनियोजनको चालुतर्फ ४०.४४ प्रतिशत, पुँजीगततर्फ ५७.२३ प्रतिशत र वित्तीय व्यवस्थापनतर्फ २.३२ प्रतिशत बजेट रहेको छ ।
विकासे र वितरणमुखी मन्त्रालयमा बढी बजेट
प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि बजेटको आकार बढाए पनि केही मन्त्रालयको बजेट भने अस्वभाविकरुपमा कटौती गरेको छ । विषेशगरी मुख्यमन्त्री कार्यालयमा बजेट स्रोतविहीन बनाइएको छ भने आर्थिक मामिला मन्त्रालयको बजेट बढाइएको छ ।
आगामी आर्थिक वर्षको बजेटमा आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले नागरिकहरुको प्रत्यक्ष सरोकार रहने र सरकारलाई आम जनतासँग जोड्ने मन्त्रालयको बजेट कटौती गर्नुभएको छ भने विकासे र वितरणमुखी मन्त्रालयको बजेट बढाउनुभएको छ । विकासे मन्त्रालय (भौतिक पूर्वाधार) र वितरणमुखी मन्त्रालय (संस्कृति, वन तथा वातावरण, रोजगारलगायत) को बजेट बढाइएको छ । युवा तथा खेलकुद मन्त्रालय, कृषि तथा पशुपछी विकास मन्त्रालयको बजेट कटौती गरिएको छ ।
प्रदेश सरकारको आर्थिक मामिला मन्त्रालयको बजेट डबल बनाइएको छ । आगामी आर्थिक वर्षका लागि उक्त मन्त्रालयमा ११ करोड ७ लाख ७१ हजार रुपैयाँ बजेट थप गरिएको हो । सो मन्त्रालयमा चालु आर्थिक वर्षमा १२ करोड ९४ लाख ३८ हजार रुपैयाँ विनियोजन गरिएकोमा आगामी आर्थिक वर्षका लागि ८६ प्रतिशत बजेट वृद्धि गरी २४ करोड २ लाख ९ हजार रुपैयाँ विनियोजन गरिएको छ ।
चालु आर्थिक वर्षमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअन्तर्गत २ अर्ब १८ करोड ४ लाख ९८ हजार रुपैयाँ बजेट विनियोजन गरिएकोमा आगामी आर्थिक वर्षका लागि ७३ प्रतिशत बढी बजेट कटौती गरिएको छ । मुख्यमन्त्री कार्यालयको बजेटमा आर्थिक मामिलामन्त्री थपलियाले कैंची चलाउँदै चालु आर्थिक वर्षको तुलनामा १ अर्ब ६८ करोड रुपैयाँ बजेट काट्नुभएको हो । मुख्यमन्त्री कार्यालयका लागि आगामी आर्थिक वर्षमा ५० करोड ६४ लाख ३७ हजार रुपैयाँ बजेट विनियोजन गरिएको छ ।
यस्तै, आर्थिक मामिला तथा योजनामन्त्री थपलियाले कृषि तथा पशुपछी विकास मन्त्रालयको बजेटमा ७५ करोड ६५ लाख ३९ हजार रुपैयाँ र सामाजिक विकास मन्त्रालयको बजेटमा ८ करोड ९७ लाख ५ हजार रुपैयाँ कटौती गर्नुभएको छ । खानेपानी, सिँचाइ तथा उर्जा मन्त्रालयको बजेटमा १ अर्ब ७ करोड ३५ लाख ३२ हजार रुपैयाँ र आन्तरिक मामिला तथा कानुन मन्त्रालयको बजेटमा १७ करोड ७७ लाख ६० हजार रुपैयाँ कटौती गरिएको छ । खेलकुद मन्त्रालयमा अघिल्लो आर्थिक वर्षमा १ अर्ब २३ करोड रुपैयाँ बढीको बजेट रहेकोमा हाल कुल बजेट नै ७४ करोड ५८ लाख २७ हजार रुपैयाँ रहेको छ । सो मन्त्रालयको बजेटमा झण्डै ४० प्रतिशत कटौती गरिएको छ ।
मन्त्री थपलियाले भौतिक पूर्वाधार मन्त्रालयको बजेट चालु आर्थिक वर्षको तुलनामा ९७ करोड ९२ लाख २८ हजार रुपैयाँ बढाउनुभएको छ भने संस्कृति तथा पर्यटन मन्त्रालयको बजेट २९ करोड ५८ लाख ८१ हजार रुपैयाँ बढाउनुभएको छ । वन तथा वातावरण मन्त्रालयको बजेट १८ करोड ९ लाख ४० हजार रुपैयाँ, स्वास्थ्य मन्त्रालयको बजेट ६२ लाख ७६ हजार रुपैयाँ र श्रम, रोजगार तथा यातायात मन्त्रालयको बजेट १६ करोड ८६ लाख १३ हजार रुपैयाँ बढाइएको छ । ती मन्त्रालयका अधिकांश कार्यक्रम वितरणमुखी रहेका छन् । विषेशगरी संस्कृति, पर्यटन, वन तथा वातावरण, श्रम तथा रोजगार मन्त्रालयले वितरणमुखी कार्यक्रहरु बजेटमा समावेश गरेका छन् ।
शक्तिशाली मन्त्रीलाई बढी बजेट
प्रदेश सरकारको बजेट विषेशगरी शक्तिशाली मन्त्रीको भागमा बढी देखिएको छ । सरकार सञ्चालन र निर्माणमा भूमिका खेल्ले मन्त्रीहरुले आगामी आर्थिक वर्षको बजेटमा हालीमुहाली चलाएको देखिन्छ । बजेट बढाइएको मन्त्रालयमध्ये सबैभन्दा ठूलो आकार भौतिक पूर्वाधार विकास मन्त्रालयमा रहेको छ । सरकार निर्माणको समयमा सशक्त भूमिका खेल्नुभएका माओवादी केन्द्रका युवराज दुलालले सो मन्त्रालय चलाउँदै आउनुभएको छ ।
सरकार निर्माणमा महत्वपूर्ण भूमिका खेल्नुभएका अर्का मन्त्री हुनुहुन्छ, एकीकृत समाजवादीका लक्ष्मण लम्साल । श्रम, रोजगार तथा यातायात मन्त्रालय सम्हाल्नुभएका उहाँले आगामी आर्थिक वर्षमा बढेको बजेट चलाउनुहुनेछ । सरकार निर्माण तथा मन्त्रिपरिषद्मा महत्वपूर्ण भूमिका खेल्ने अर्का दुई पात्र एमालेका केशव पोखरेल र रामेश्वर श्रेष्ठ हुनुहुन्छ । उहाँहरुले क्रमशः वन तथा वातावरण र स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आउनुभएको छ । दुबै मन्त्रीले आगामी आर्थिक वर्षमा बढेर आएको बजेट परिचालन गर्नुहुनेछ ।
सरकार निर्माणमा निर्णायक भूमिकामा देखिनुभएका संस्कृति, पर्यटन तथा सहकारीमन्त्री शैलेन्द्रमान बज्राचार्यले पनि बजेट बढी पाउनुभएको छ । हाम्रो नेपाली पार्टीका सांसद बज्राचार्यको मन्त्रालयको बजेटसमेत बढेको छ ।
सत्ता साझेदार दल एमालेका सांसद जगन्नाथ थपलियाले प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालय सम्हाल्दै आउनुभएको छ । वर्तमान मन्त्रिपरिषद्मा उहाँ निकै शक्तिशाली रहँदै आउनुभएको छ । निर्णायक भूमिकामा उहाँ महत्वपूर्ण पात्र हुनुहुन्छ । बजेट निर्माणमा सर्वशक्तिशाली पात्रको रुपमा उहाँले काम गरेको देखिन्छ । उहाँको मन्त्रालयको बजेटसमेत दोब्बरले बढेको छ ।
तजबिजको बजेटमा वृद्धि
प्रदेश सरकारले आफ्नो तजबिजमा खर्च गर्ने गरी राख्ने बजेट पनि वृद्धि गरेको छ । आर्थिक मामिला मन्त्री थपलियाले आगामी आर्थिक वर्षका लागि अर्थ विविध शीर्षकको बजेट बढाएर ल्याउनुभएको छ । आफ्नो तजबिजबाट खर्च गर्न मिल्ने उक्त शीर्षकमा मन्त्री थपलियाले कुल बजेटको ७.३८ प्रतिशत बजेट विनियोजन गर्नुभएको छ । आगामी आर्थिक वर्षका लागि मन्त्री थपलियाले उक्त शीर्षकको बजेट चालु आर्थिक वर्षको तुलनामा ७५ करोड ५९ लाख ८३ हजार रुपैयाँले बढाउनुभएको हो । आगामी आर्थिक वर्षका लागि प्रदेश सरकारले अर्थ विविध शीर्षकमा ४ अर्ब ७६ करोड २२ लाख रुपैयाँ बजेट विनियोजन गरेकोमा हो । चालु आर्थिक वर्षमा उक्त शीर्षकमा ४ अर्ब ६२ लाख १७ हजार रुपैयाँ बजेट विनियोजन गरिएको थियो ।