प्रधानाध्यापकलाई शैक्षिक सामग्री हस्तान्तरण गर्नुहुँदै वडा अध्यक्ष रामकृष्ण थापा ।

हेटौँडाः हेटौँडा उपमहानगरपालिका ८ नम्बर वडा कार्यालयले चन्द्रोदय माध्यमिक विद्यालयलाई शैक्षिक सामग्री हस्तान्तरण गरेको छ । मंगलबार कार्यालयले विज्ञान तथा गणित विषयको शैक्षिक सुधारका लागि एक सय आठ प्रकारको प्रयोगात्मक सामग्री हस्तान्तरण गरेको ८ नम्बरका वडाध्यक्ष रामकृष्ण थापाले जानकारी दिनुभयो ।

वडा अध्यक्ष थापाले विद्यालयका प्रधानाध्यापक जीवन ढकाललाई ३ लाख रुपैयाँ बराबरको शैक्षिक सामग्री हस्तान्तरण गर्नु भएको हो । वडाले कार्ययोजना अनुसार सामुदायिक विद्यालय सहयोग गरेको थापाले बताउनुभयो । कार्यक्रममा कार्यालय सचिव भगवती रिमाल, सहायक कर्मचारी उषा मिश्र, विद्यालयका विज्ञान तथा गणितका शिक्षक लगायतको उपस्थिति रहेको थियो । थापाको अनुसार वडाले अरु विद्यालयलाई अन्य हिसाबले सहयोग गर्दै आएको छ ।