हेटौँडाः चैनपुर जेसीज मनहरीले मकवानपुरको मनहरी गाउँपालिका–४, मसिनेमा निर्माणाधीन ओम शान्ति भवनलाई सिमेण्ट सहयोग गरेको छ । जेसीजका अध्यक्ष रविन ढकालको जन्मदिनको अवसर पारेर सोमबार एक कार्यक्रमकाबीच ओम शान्ति भवनका लागि २० बोरा सिमेण्ट सहयोग गरिएको हो ।
फजुल खर्च गरेर जन्मदिन मनाउनु भन्दा संस्थालाई आवश्यक सहयोग गरिएको अध्यक्ष ढकालले बताउनुभएको छ । कार्यक्रम संयोजक सुरज ढुंगानाको संयोजकत्वमा भएको कार्यक्रममा वडा अध्यक्ष प्रकाश थापाको प्रमुख आतिथ्य रहेको थियो । वडा अध्यक्ष थापाले सामाजिक कार्य गरेर जन्मदिन मनाउने अभ्यासको सबैले अनुशरण गर्नुपर्ने बताउनुभयो । चालु आर्थिक बर्षमा समेत ओम शान्तिको भवनका लागि बजेट विनियोजन गरेको स्मरण गराउनुहुँदै वडा अध्यक्ष थापाले आगामी बर्षका लागि पनि सक्ने सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ । चैनपुर जेसीज मनहरीले आफ्नो वडाको विकास एवम् समाज परिवर्तनको साझेदारको रुपमा अघि बढेकोमा उहाँले खुसी व्यक्त गर्नुभयो ।
ब्रम्हकुमारी राजयोग सेवा केन्द्र ओम शान्तिका सञ्चालक सुशीला दिदीले धर्मले मानिसलाई अनुशासित बनाउने उल्लेख गर्नुहुँदै सबैको सहयोगबाट संस्था सञ्चालन भैरहेको जानकारी दिनुभयो । धर्मकर्म तथा सामाजिक कार्यमा युवा पुस्ताले ध्यान दिन जरुरी रहेको उहाँको सुझाव थियो । जेसीजका अध्यक्ष सल्लाहकार विदुर विक्रम थापाले जन्मदिन तथा विवाह उत्सवमा अनावश्यक खर्च गर्नु सट्टा समाजमा सकेको सहयोग गर्ने कार्यलाई सबैले अनुशरण गर्दै अघि बढ्नुपर्ने बताउनुभयो । कार्यक्रममा चैनपुर जेसीज मनहरीका संस्थापक अध्यक्ष गणेशदर्पण अधिकारीको पनि आतिथ्य रहेको थियो ।