हेटौँडाः मकवानपुर जिल्लाको मनहरी गाउँपालिकाले शैक्षिक सत्र २०८० को बार्षिक परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी, शिक्षक र विद्यालयलाई पुरस्कृत गरेको छ ।
मनहरी गाउँपालिकाका सामुदायिक विद्यालयमा शैक्षिक उपलव्धिको आधारमा उत्कृष्ट हुने विद्यालयलाई पुरस्कृत गरिएको हो । गाउँपालिका सामाजिक विकास समिति संयोजक अनन्तप्रकाश अर्यालको अध्यक्षतामा तथा गाउँपालिका अध्यक्ष रञ्जन कालाखेतीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा गाउँपालिका उपाध्यक्ष सीता पुलामी, प्रमुख प्रशासकीय अधिकृत रमेश सुवेदी, शिक्षा अधिकृत प्रदीप पराजुलीले नगद, सम्मानपत्र प्रदान गर्नुभएको थियो ।
विभिन्न विद्यालयको शिक्षक तथा विद्यालय व्यवस्थापन समितिको रोहवरमा कार्यक्रम सन्चालन भएको हो । गाउँपालिकामा रहेका सामुदायिक विद्यालयतर्फ शैक्षिक सत्र २०८० को एसईई परीक्षामा उत्कृष्ट नतिजा ल्याई गाउँपालिका प्रथम हुने पशुपतिनाथ माविलाई एक लाख ९० हजार नगद प्रदान गरिएको हो । कक्षा ८ तर्फ प्रथम युवाबर्ष आधारभूत विद्यालयलाई एक लाख ३५ हजार, कक्षा ५ तर्फ चकरी प्राविलाई ७५ हजार रुपैयाँसहित पुरस्कृत गरिएको हो ।
कार्यक्रममा तीनवटै तहमा विषयगतरुपमा उत्कृष्ट नतिजा ल्याउने शिक्षक नगद तथा प्रमाणपत्रबाट सम्मानित भएका छन् । शैक्षिकसत्र २०८० मा कक्षा ८ आधारभूत तह उत्तीर्ण परीक्षा गाउँपालिकाको उत्कृष्ट विद्यार्थी जिसन न्यौपाने (३.८७ जिपिए) पुरस्कृत भएका छन् । कक्षा ५ को उपलव्धी परीक्षामा गाउँपालिका प्रथम, द्वितीय र तृतीय क्रमशः जनज्योति आविका योगेश मुक्तान, विनाकालिका प्राविका सिद्धान्त ढकाल, विनाकालिका प्राविकै अविसि ओझा पुरस्कृत भएका छन् ।
आधारभूत तह कक्षा ८ को गाउँपालिकास्तरीय परीक्षामा प्रथम, द्वितीय र तृतीय क्रमशः राष्ट्रिय रोटरी माविका नेमराज तामाङ, महेन्द्रकिरण माविका कञ्चन सुवेदी, राष्ट्रिय रोटरी माविका अंकित दाहाल र मुना रसाइली पुरस्कृत भएका छन् । एसईईमा गाउँपालिका प्रथम, द्वितीय र तृतीय क्रमशः राष्ट्रिय रोटरी माविकी रश्मि बानियाँ, पशुपतिनाथ माविकी पार्वती तितुङ, राष्ट्रिय रोटरीकी विद्या सुनार र बालजीवनज्योति माविका सन्देश विक पुरस्कृत भएका छन् । गाउँपालिकाभित्र ३२ वटा सामुदायिक र ७ वटा संस्थागत विद्यालय रहेका छन् ।
कार्यक्रममै एक विद्यालय एक ल्यापटपअन्तर्गत प्राथमिक तहका १४ वटा सामुदायिक विद्यालयलाई ल्यापटप वितरण गरिएको छ । त्यसैगरी विद्यालयको पठनपाठनलाई सहज बनाउन र तयारीका साथ कक्षाकोठामा जान सबै शिक्षकलाई शिक्षक डायरी प्रदान गरिएको थियो । नगद तथा प्रमाणपत्र प्राप्त गरी पुरस्कृत भएका शिक्षक, विद्यार्थी तथा विद्यालयले आफूहरुलाई थप उर्जा मिलेको तथा गाउँपालिकाले शैक्षिक क्यालेन्डरमार्फत शैक्षिक गतिविधिलाई व्यवस्थित बनाएको बताएका थिए ।