हेटौँडाः हेटौँडा–९ स्थित मानव सेवा आश्रमले दुई जनालाई पारिवारिक पुनर्मिलन गराएको छ । शनिबार आश्रमले चितवनको भरतपुर महानगरपालिका घर भएकी ८१ वर्षीया वृद्धा सूर्यमाया गोले र पर्साको बसन्तपुर–८ का ५० वर्षीय मुखल साह तेलीलाई पारिवारिक पुनर्मिलन गराएको आश्रमका अभियन्ता होमनाथ पौडेलले जानकारी दिनुभयो ।

अभियन्ता पौडेलका अनुसार वृद्धालाई गत जेठ १३ गते हेटौँडा अस्पताल नजिकैबाट प्रहरी र आश्रमबाट खटिएको टोलीले उद्दार गरिएको थियो भने साहलाई जेठ २५ गते चितवनको भरतपुरबाट उद्दार गरिएको थियो । दुवै जनालाई संरक्षणका लागि मानव सेवा आश्रम हेटौँडामा ल्याइएको थियो । वृद्धालाई शनिबार उहाँका घरमा पु¥याएर छोरी माया भुजेललाई जिम्मा लगाएको अभियन्ता पौडेलले बताउनुभयो ।

यस्तै साहलाई लिन परिवार नै आश्रममा सम्पर्क गरेर आइपुगेका थिए । मानव सेवा आश्रम हेटौँडाले हालसम्म १ हजार ७ जनाको उद्दार गरी ९ सय जनाको सफल पारिवारिक पुनर्मिलन गराइसकेको छ । आश्रमले जेठ महिनामा २० जनाको उद्दार गरी ६ जनाको पारिवारिक पुनर्मिलन गराउन सफल भएको छ ।