नगरप्रहरीले नियन्त्रणमा लिएर उपमहानगरपालिका अगाडि रोकी राखेका ट्रकहरु ।

हेटौँडाः मकवानपुरको बकैया गाउँपालिकाबाट खानीजन्य माटो निकासी भइरहेको पाइएको छ । बकैया गाउँपालिका–४ बाट निकासी भइरहेको खानीजन्य माटो सामान्य माटोकै मूल्यमा बिक्री गरिरहेको गाउँपालिकाका उपाध्यक्ष भक्त खत्रीले जानकारी दिनुभएको छ ।

माटो निकासीको क्रममा ढुवानी गर्ने ट्रकमा निकासीका लागि आवश्यक कागजपत्र नभेटिएपछि हेटौँडा उपमहानगरपालिकाको नगरप्रहरीले शुक्रबार राती १५ वटा ट्रक नियन्त्रणमा लिएको छ । ट्रकलाई नियन्त्रणमा लिएर हेर्ने क्रममा माटो खानीजन्य र बहुमूल्य खनिजसहितको भएको अनुमान गरिएको छ । माटो धातु रंगको र चुम्बक प्रयोग गर्दा चुम्बनमा माटो फलामजस्तै टाँसिने प्रकृतिको छ ।

ट्रक चालकहरुले मकवानपुरको बकैया गाउँपालिका–४ बाट लोड गरिएको माटो अर्घाखाँची जिल्लास्थित सिमेन्ट उद्योगमा लैजान लागेको बताएका छन्। उनीहरुले सिमेन्ट उद्योगको नाम भने बताउन चाहेनन् ।

ट्रकमा राखिएको माटो ।

मकवानपुरको बकैया गाउँपालिका बहुमूल्य युरेनियमको खानी समेत भएकोले पनि अहिले माटो निकासीको विषय शंकास्पद देखिएको हो । बकैया गाउँपालिकाका उपाध्यक्ष खत्रीले विरोधाभासपूर्ण प्रतिक्रिया दिनुभएको छ । ३ महिनादेखि प्रतिघनफिट ९ रुपैयाँका दरले राजश्व लिएर माटो निकासी गरिरहेको बताउनुभएका उपाध्यक्ष खत्रीले अहिले परीक्षणका लागि पठाइएको दावी गर्नुभयो ।

बकैया गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश श्रेष्ठले भने माटो निकासी गर्नुअघि खानीजन्य भए, नभएको भनी परीक्षण नगरिएको बताउनुभयो। खानीजन्य भए, नभएको भनी पालिकाले परीक्षण गर्न सक्ने अवस्था नरहेको उहाँको भनाई छ। खानी विभागमा परीक्षण गर्न सकिन्थ्यो होला नि भन्ने प्रश्नमा प्रशासकीय अधिकृत श्रेष्ठले भन्नुभयो, ’हामीले परीक्षण गर्न सकेनौं अब तपाईंहरुले बुझेर समाचारमा लेख्नु न ।’

माटो निकासीको विषयमा मकवानपुरका प्रमुख जिल्ला अधिकारी तीर्थराज‌ चिलुवालले आवश्यक अनुसन्धान गरिने बताउनुभएको छ ।