हेटौंडाः चुरेहिल हस्पिटल प्रालिको मेडिकल निर्देशकको जिम्मेवारी डा. जयराज शर्मालाई प्रदान गरिएको छ । हस्पिटल संचालक समितिको असार ९ गतेको बैठकको निर्णयानुसार उहाँलाई जिम्मेवारी प्रदान गरिएको हो । हस्पिटलमा विगत १० महिनादेखि अर्थोपेडिक सर्जनको रुपमा कार्यरत डा. जयराज शर्मालाई बुधबार कार्यक्रमको आयोजना गरी जिम्मेवारी हस्तान्तरण गरिएको छ ।
हस्पिटल संचालक समितिका अध्यक्ष गोकर्णप्रसाद पराजुलीको सभाध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य राख्नुहुँदै अध्यक्ष पराजुलीले हस्पिटललाई नयाँ दिशाबाट अघि बढाउन जरुरी भएकोले मेडिकल निर्देशकको जिम्मेवारी प्रदान गरिएको बताउनुभयो । नवनियुक्त मेडिकल निर्देशक डा. शर्माले हस्पिटलले प्रदान गरेको जिम्मेवारीलाई पूर्ण रुपमा वहन गर्ने बताउनुभयो । विरामीलाई गुणस्तरीय सेवा सुविधा प्रदान गर्न नयाँ नीति एवम् कार्ययोजना बनाई अघि बढ्ने बताउनुहुँदै डा. शर्माले छिट्टै नै बालस्वास्थ्य र स्त्रीस्वास्थ्य सेवा पनि थप गर्दै अघि बढ्ने बताउनुभयो । संस्थागत अनुशासन कायम गर्दै हस्पिटलको आर्थिक स्थिति मजबुत बनाई क्षेत्र विस्तारमा पनि अघि बढ्ने डा. शर्माले बताउनुभयो ।
हस्पिटलका सल्लाहकार तथा मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कटुवालले मकवानपुरवासीलाई अत्याधुनिक स्वास्थ्य सेवा सुविधा उपलब्ध गराउनका लागि चुरेहिल हस्पिटलको स्थापना गरिएकोले सुशासन कायम गरी थप सेवा विस्तारमा अघि बढ्न सुझाउनुभयो । संचालक समिति सदस्य देवेन्द्रध्वज कार्कीले हस्पिटलको गुणस्तरलाई अझै उच्च बनाउन सबैको सहयोग आवश्यक रहने बताउनुभयो । कार्यक्रममा संचालक समिति सदस्य विश्वराज रिजाल, नारायणलाल श्रेष्ठ, टिकामान परियार, शेयर सदस्य मुरारी प्रसाद पुडासैनी, जीतबहादुर श्रेष्ठ, तेजबहादुर थापा, अर्जुन डंगोल, सल्लाहकार आनन्दराम पराजुली, प्रमोद सिंह रानाभाट, हस्पिटलमा कार्यरत चिकित्सकहरु, प्रशासनिक कर्मचारीहरु, विभिन्न वार्डका ईन्चार्जहरुलगायतको उपस्थिति रहेको हस्पिटलका प्रशासकीय अधिकृत विवेक मानन्धरले जानकारी दिनुभएको छ ।