हेटौंडाः नेपाल विद्यालय कर्मचारी परिषद् मकवानपुरको आयोजनामा विद्यालय कर्मचारी पारिश्रमिक व्यवस्थापनसम्बन्धी छलफल भएको छ । शुक्रबार परिषदका जिल्ला अध्यक्ष राजन अधिकारीको संयोजनमा कार्यक्रम सञ्चालन भएको हो ।
नेपाल सरकारले विद्यालयका कर्मचारीका लागि बजेट नछुट्याएका कारण स्थानीय तहसँग समन्वय गर्ने परिषदका सचिव सज्जन रिमालले जानकारी दिनुभयो । नेपाल सरकारले तोकेको समान तहमा कार्यरत कर्मचारीले पाउँदै आएको तलब र सरकारले तोकेको न्यूनतम पारिश्रमिकभन्दा पनि न्यूनतम तलब आएका कारण छलफल कार्यक्रमको आयोजना गरिएको हो । रिमालका अनुसार विद्यालयका लेखा कर्मचारीबिच भएको छलफलबाट स्थानीय तहलाई ज्ञापनपत्र बुझाउने निर्णय गरिएको छ ।
केन्द्रीय सरकारबाट विद्यालयको कर्मचारीको सेवा सुविधासम्बन्धी कुनै पनि माग सम्बोधन नभएका कारण उचित पारिश्रमिकका लागि स्थानीय सरकारलाई दवाव दिन लागिएको सचिव रिमालले बताउनुभयो । कर्मचारीहरु न्यूनतम पारिश्रमिकभन्दा पनि काम तलबमा काम गर्दै आएको उहाँको भनाइ छ । स्थानीय सरकारलाई जेठ महिनाभित्र ज्ञापनपत्र पेश गरिने बताइएको छ । छलफल कार्यक्रममा ३० जना कर्मचारीको सहभागिता रहेको थियो ।