मतदानस्थल व्यवस्थापन गरिँदै ।

हेटौँडाः नेकपा एमाले मकवानपुरको नयाँ नेतृत्व चयनका लागि मतदान सुरु भएको छ। निर्धारित समयभन्दा ३ घण्टा १५ मिनेट ढिलो गरी मतदान सुरु भएको हो।

निर्वाचन समितिले आइतबार दिउँसो १ बजेदेखि मतदान सुरु हुने तालिका सार्बजनिक गरे पनि दिउँसो ४ बजेर १५ मिनेटमा मतदान सुरु भएको निर्वाचन अधिकृत पिताम्बर बास्तोलाले जानकारी दिनुभएको छ। निर्वाचन समितिले मतदानको समय आइतबार साँझ ८ बजेसम्मका लागि निर्धारण गरिएको छ।

७ सय ७७ जना प्रतिनिधिले मतदान गर्नेछन्। एकपटकमा ३० जनाले मतदान गर्न सकिने गरी व्यवस्थापन गरिएको निर्वाचन अधिकृत बास्तोलाले जानकारी दिनुभएको छ। एमाले मकवानपुरको ५ पदाधिकारीसहित १०५ सदस्यीय जिल्ला कमिटी चयनका लागि निर्वाचन हुन लागेको हो । निर्वाचन कमिटीले उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरिसकेको छ । एमाले मकवानपुरको नेतृत्वका लागि अध्यक्ष पदमा ४ जनाको उम्मेदवारी परेको छ । यस्तै उपाध्यक्ष पदमा ४ जना, सचिवमा ३ जना, उपसचिव खुल्ला तर्फ ५ र महिलातर्फ ४ जनाको उम्मेदवारी परेको छ । एमाले मकवानपुरको अध्यक्ष पदमा देवराज रिमाल, इन्द्रमान स्याङ्तान, श्रीधर पोखरेल र लालबहादुर थापाको उम्मेदवारी रहेको छ भने उपाध्यक्ष पदमा हिदम लामा, सुनिल मोक्तान, ध्रुब चौलागाई र भरत दुलालको उम्मेदवारी रहेको छ ।

यस्तै सचिव पदमा मदनकुमार दाहाल, सीता विष्ट र राजन थापाको उम्मेदवारी छ भने उपसचिव खुलातर्फ ईन्द्रप्रसाद नेपाल, कृष्णप्रसाद चौलागाई, दीपक खड्का, फुर्वा दोर्जे लामा र खेमराज मगरको उम्मेदवारी रहेको छ । उपसचिव महिलातर्फ कल्पना बलामी, जुना दाहाल, आरती पाठक र पार्वती रानाको उम्मेदवारी रहेको छ ।