हेटौँडाः हेटौँडा–२ स्थित जलेश्वर मन्दिर परिसरमा ज्येष्ठ नागरिकका लागि पहिलो दिवा सेवा केन्द्रको स्थापना गरिएको छ । शनिबार दिवसको अवसरमा भएको दिवा सेवा केन्द्रको उद्घाटन, ज्येष्ठ नागरिक सम्मान तथा निमोनिया विरुद्ध खोप कार्यक्रममा बागमती प्रदेशकी सामाजिक विकास मन्त्री कुमारी मोक्तानले दिवा सेवा केन्द्रको उद्घाटन गर्नुभएको हो ।
विगतको केही वर्षको प्रयासमा २ नम्बर वडामा पहिलो दिवा सेवा केन्द्रको स्थापना गरिएको वडाध्यक्ष विष्णु गोपाल महर्जनले जानकारी दिनुभएको छ । वडा कार्यालयको करिब १५ लाख बजेटमा एक वर्षमा दिवा सेवा केन्द्र निर्माण सम्पन्न गरेको वडाध्यक्ष महर्जनले बताउनुभयो । सेवा केन्द्रमा २ नम्बर वडा भित्रका ज्येष्ठ नागरिकहरुले सुःख दुःखका कुराहरु गर्न पाउने, टेलिभिजनमा मनोरञ्जनात्मक कुराहरु हेर्न पाउने, नाचगान, भजन–कीर्तन सुन्न पाउने उहाँले बताउनुभयो । बिहानको १० बजेदेखि बेलुकाको ४ बजेसम्म खुला रहने सेवा केन्द्रमा ज्येष्ठ नागरिकका लागि खाजाको पनि व्यवस्था गरिने उहाँले बताउनुभयो ।
हेटौँडा उपमहानगरपालिका उपप्रमुख राजेश बानियाँले ज्येष्ठ नागरिकको समस्यलाई न्युनीकरण गर्नका लागि प्रत्येक वडा गाउँपालिकाहरुमा दिवा सेवा केन्द्रको स्थापना गर्न आवश्यक रहेको धारण राख्नुभयो । ज्येष्ठ नागरिकलाई कसरी मनोरञ्जन गराउन सकिन्छ भन्ने कुरामा लाग्नुपर्ने उहाँले दावी गर्नुभयो । कार्यक्रममा २ नम्बर वडाका करिब २ सय जना ज्येष्ठ नागरिकलाई सम्मान स्वरुप थर्मस वितरण गरिएको छ । यस्तै ८४ बर्ष भन्दा अधिक उमेर समुहका ५४ जनालाई निमोनिया विरुद्धको खोप लगाइएको छ । ज्येष्ठ नागरिकको निःशुल्क स्वास्थ्य परीक्षण, औषधी वितरण तथा रक्त शर्करा परीक्षण पनि गरिएको छ । जलेश्वर मन्दिर विकास समितिको सहयोगमा भएको कार्यक्रममा नगर खेलकुद विकास समितिका अध्यक्ष रविन्द्र घिमिरे, हेटौँडा उपमहानगरपालिकाकी सामाजिक शाखा प्रमुख विष्ण कुमारी लामिछाने लगायतको उपस्थिति रहेको थियो ।