सांकेतिक तस्वीर ।

हेटौंडाः बागमती प्रदेशको दुई जिल्लामा एकै दिन ३ जनाको मृत्यु भएको छ । प्रदेशको काभ्रेपलाञ्चोक र धादिङ जिल्लामा विभिन्न घटनामा ३ जनाको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको हो ।

काभ्रेपलाञ्चोक जिल्लाको बनेपा नगरपालिका–११, धनेश्वरमा आइचर गाडी आफैँ अनियन्त्रित भई सडकबाट खस्दा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा आइचर चालक काभ्रेको पनौती नगरपालिका–५, ढलमलेका ५२ वर्षीय बद्री बोगटी रहेको प्रहरीले जानकारी दिएको छ । बिहीबार भित्री सडकखण्डमा धनेश्वरबाट पाकुटोलतर्फ जाँदै गरेको बा ६ च ६३४० नम्बरको सिमेन्ट बोकेको आइचर गाडी आफैँ अनियन्त्रित भई सडकबाट ४० मिटर तल खसी दुर्घटना भएको हो । दुर्घटना हुँदा आइचर चालकसहित गाडीमा सवार काभ्रेको भुम्लु गाउँपालिका–२ का २३ वर्षीय विष्णु पहरी, २४ वर्षीय सुमन पहरी पनि घाइते भएका थिए । घाइते ३ जनालाई उपचारका लागि शिर मेमोरियल अस्पताल बनेपा लगिएकोमा चालक बोगटीको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

यस्तै, काभ्रेपलाञ्चोक जिल्लाको बनेपा नगरपालिका–१२, कार्कीगाउँमा गोरेटो बाटोबाट लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ४८ वर्षीय राधेश्याम कार्की रहेको प्रहरीले जानकारी दिएको छ । बिहीबार साँझ ५ बजेर ४० मिनेटको समयमा कार्की आफ्नै बारीमा काम गरी बारीबाट घर फर्कने क्रममा गोरेटो बाटोबाट १५ फिट तल रहेको पक्की सडकमा खस्दा घाइते भएका थिए । घाइते कार्कीलाई उपचारका लागि शिर मेमोरियल अस्पताल बनेपा लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

धादिङ जिल्लाको निलकण्ठ नगरपालिका–१४, धुवाँकोटमा रुखबाट लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ६० वर्षीय गीताबल्लभ लामिछाने रहेको प्रहरीले जानकारी दिएको छ । बिहीबार दिउँसो ४ बजेको समयमा लामिछाने घर नजिकै रहेको काब्रोको रुखबाट घाँस झार्ने क्रममा लडेर घाइते भएका थिए । घाइते लामिछानेलाई उपचारका लागि जिल्ला अस्पताल धादिङ लगिएकोमा सामान्य उपचारपश्चात् थप उपचारका लागि काठमाडौंको वीर अस्पताल लगिएको थियो । लामिछानेको उपचारको क्रममा शुक्रबार बिहान १ बजेर २० मिनेटको समयमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।