हेटौँडाः बागमती प्रदेशसभा सदस्य भरत बहादुर केसीले प्रदेश सरकारले खेल क्षेत्रमा धेरै प्राथमिकता दिएको बताउनुभएको छ । बागमती प्रदेश सरकारले प्रदेश सभामा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रममाथि प्रदेश सभामा छलफलका क्रममा उहाँले प्रदेश सरकारको नीति तथा कार्यक्रममा खेलकुदलाई धेरै प्रोत्साहन गरेर एक स्थानीय तह एक रङ्गशाला सम्भव नभएकाले त्यसमा सरकारले सुधार गर्नु पर्ने भन्दै केसीले सुझाव दिनुभएको छ ।
प्रदेशका स्थानीय तहको दूरदराजमा रङ्गशाला निर्माण गर्दा खेलाडी नै नहुने अवस्था आएको उल्लेख गर्नुहुँदै एक जिल्ला एक रङ्गशाला निर्माण हुनुपर्ने केसीको धारणा थियो । छलफलका क्रममा बागमती प्रदेश सरकारले नीति तथा कार्यक्रम मिहिनेतका साथ ल्याएको बताउँदै नीति तथा कार्यक्रम सैद्धान्तिकरुपले हेर्दा हरेक नीतिलाई कार्यक्रमले हेर्नु पर्ने र हरेक कार्यक्रमलाई नीतिले हेर्नु पर्ने भएकाले राम्रो भएको उहाँको भनाई छ । नीति तथा कार्यक्रमलाई कार्यान्वयनमा लैजान सकिने भएकाले यस नीति तथा कार्यक्रम राम्रो भएको केसीको दावी छ ।
प्रदेश सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमले हरेक क्षेत्रलाई समेटेको बताउँदै कृषिमा केही सुधार गर्नुपर्ने आवश्यक रहेको औँल्याउनुभयो । ‘कृषि उत्पादन वृद्धिको आधार अनुसन्धान, शिक्षा र प्रसार’ भनेर राखेकोमा ‘कृषि उत्पादन वृद्धिको आधार वैज्ञानिक प्रणाली र पूर्वाधार’ भनेर राख्नुपर्ने उहाँको सुझाव छ । वैज्ञानिक प्रणालीले ख्यातिमा सुधार ल्याउने केसीको धारणा छ । प्रदेश सरकारले कृषिका लागि रैथाने बाली जोगाउन आफ्नो अन्नको बीउ आफै जोगाउँ भन्ने कार्यक्रम ल्याउन आवश्यक रहेको बताउनुभयो ।
कृषिको उत्पादनलाई बजारीकरणमा यातायातको साधन नहुँदा बिचौलियाको हातमा दिनुपर्ने भएकाले एक स्थानीय तह एक कृषि एम्बुलेन्स हुन जरुरी रहेको उहाँले बताउनुभयो । प्रदेश सरकारले ‘एक प्रदेश–एक निर्वाचन क्षेत्र एक प्राङ्गारिक मल कारखाना’ भनी राखेकोमा सुधार गरेर ‘प्रदेशमा एक निर्वाचन क्षेत्र एक प्राङ्गारिक मल उत्पादन उद्योग’ हुनुपर्ने धारणा राख्नुभयो ।