हेटौंडाः नेपाल चिकित्सक संघ मकवानपुर शाखा गठन भएको छ । शनिबार हेटौंडा अस्पतालका बालरोग विशेषज्ञ डाक्टर हरि खड्काको अध्यक्षतामा संघको मकवानपुर शाखा गठन भएको हो ।

संघको वरिष्ठ उपाध्यक्षमा डा. रामचन्द्र सापकोटा, उपाध्यक्षमा डा. प्रमोदकुमार चौरसिया, सचिवमा डा. राजु सेढाई, सहसचिवमा डा. आरिफ करिम, कोषाध्यक्षमा डा. सुभाषकुमार बनैता र सहकोषाध्यक्षमा डा. ज्योति मुडभरी चयन हुनुभएको छ । यस्तै, सदस्यहरुमा डा. सुयोग्य वाग्ले, डा. सुनिल शाह, डा. प्रशान्त विडारी, डा. आशुतोषकुमार दास, डा. अमरदीप मण्डल र डा. घनश्यामप्रताप शाह चयन हुनुभएको हो ।

नेपाल चिकित्सक संघ केन्द्रीय कार्यालय, काठमाडौंको आयोजनामा भएको कार्यक्रममा शाखाको शुभारम्भ र अन्तरक्रिया कार्यक्रमसमेत भएको छ । कार्यक्रममा हेटौंडा उपमहानगरपलिकाकी प्रमुख मीनाकुमारी लामाको प्रमुख आतिथ्य रहेको थियो भने नेपाल चिकित्सक संघका केन्द्रीय अध्यक्ष सनिलविक्रम कार्कीको अध्यक्षता रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथि लामाले चिकित्सकको काम एउटा धर्मको काम भएको बुझाउन जरुरी रहेको भन्दै डाक्टरलाई सुरक्षा दिन आवश्यक रहेको बताउनुभयो । यस्तै, कार्यक्रममा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी पहिलो संशोधन अध्यादेश, २०७९ पेश गरिएको थियो ।