हेटौंडाः बागमती प्रदेशको ३ जिल्लामा विभिन्न घटनामा एकैदिन ३ जनाको मृत्यु भएको छ । प्रदेशको काभ्रेपलाञ्चोक, चितवन र सिन्धुली जिल्लामा ३ जनाको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जानकारी दिएको छ ।
काभ्रेपलाञ्चोक जिल्लाको महाभारत गाउँपालिका–२, वेशीटोलमा एक जना पुरुष मृत फेला परेका छन् । मृत फेला पर्नेमा ३२ वर्षीय कपिलकुमार बोलन रहेको प्रहरीले जानकारी दिएको छ ।
बिहीबार बिहान ७ बजेर ३० मिनेटको समयमा बोलन कक्षा–११ को परीक्षा दिन आएका थिए । बोलन गोकुले आउने क्रममा बाटोमा मृत अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ ।
चितवन जिल्लाको कालिका नगरपालिका–१०, पाइमाराङ्मा जेसीबी सडकबाट ३ सय मिटर तल खस्दा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा खैरहनी नगरपालिका–१० का ३६ वर्षीय कृष्णबहादुर थापा रहेको प्रहरीले जानकारी दिएको छ ।
बिहीबार काउलेबाट सिद्धितर्फ आउँदै गरेको बा प्र ०३–००१क २५८ नम्बरको जेसीबी सडकबाट ३ सय मिटर तल खस्दा दुर्घटना भएको थियोे । दुर्घटना हुँदा थापाको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
यस्तै, सिन्धुली जिल्लाको सुनकोशी गाउँपालिका–६, कानढुङ्ग्रीमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषा जिल्ला धनुषाधाम नगरपालिका–९ की २० वर्षीया प्रेमता यादव रहेको प्रहरीले जानकारी दिएको छ ।
यादव काठमाडौंमा कोठा भाडा लिई बस्दै गरेकोमा बुधबार राति बिरामी भई उपचारका लागि धनुषा आउने क्रममा कानढुङ्ग्रीमा आइपुग्दा एक्कासी पेट दुखी बेहोस भएकी थिइन् । यादवलाई उपचारका लागि खुर्कोटस्थित शुभजीवन अस्पतालमा लगिएकोमा बिहीबार दिउँसो १२ बजेर २० मिनेटको समयमा डाक्टरले मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ ।