हेटौंडाः मकवानपुरको थाहा नगरपालिकामा भएको ब्याडमिन्टन प्रतियोगितामा नरेन्द्र मोक्तान र देवकुमार अर्याल प्रथम हुनुभएको छ । थाहा–, क्याम्पडाँडामा भएको ५ औं उपमेयर कप ब्याडमिन्टन प्रतियोगितामा संग्राम केसी र सम्राट पाख्रिनलाई ३ सेटले पछाडि छोड्दै मोक्तान र अर्याल विजेता हुनुभएको हो ।
प्रतियोगिताको अन्तिम खेल बेस्ट अफ फाइबमा क्रमशः २१–८, १७–२१, १५–२१, २१–१२, २१–११ को सेटले मोक्तान र अर्याल प्रथम हुनुभएको मोक्तानले जानकारी दिनुभयो । बिहीबार र शुक्रबार दुई दिन भएको प्रतियोगितामा मोक्तान र अर्याललाई नगद २० हजार, प्रमाणपत्र र शिल्ड प्रदान गरिएको छ ।
प्रतियोगितामा संग्राम केसी र सम्राट पाख्रिन दोस्रो हुनुभएको छ । दोस्रो हुने टिमलाई नगद १५ हजार, प्रमाणपत्र र शिल्ड प्रदान गरिएको छ । प्रतियोगितामा सेमिफाइनलमा पराजित सुबास थापा र इसाक केसीको टिम तथा नवीन चौधरी र कबिन्द्र वडको टिमलाई ५ हजार, प्रमाणपत्र र शिल्ड प्रदान गरिएको छ ।
थाहा नगरपलिका खेलकुद विकास समितिको आयोजनामा भएको प्रतियोगितामा १५ वटा टिमको सहभागिता रहेको थियो । प्रतियोगिताको अन्तिम दिन थाहा नगरपालिकाका उपमेयर भरत गोपालीको प्रमुख आतिथ्य रहेको थियो । नगर खेलकुद समितिका अध्यक्ष टीकाराम स्याङ्तानको अध्यक्षता रहेको थियो भने मकवानपुर जिल्लाका ब्याडमिन्टन संघका वरिष्ठ उपाध्यक्ष विजय सिंह ठकुरीको विशिष्ट आतिथ्य रहेको थियो । प्रतियोगिता थाहा नगरपालिका ब्याडमिन्टन संघको व्यवस्थापनमा भएको हो ।