हेटौंडाः बागमती प्रदेश कोभिड संकट व्यवस्थापन समितिले आईसोलेसन बेड थप गर्ने निर्णय गरेको छ । समितिका अध्यक्ष बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बसेको बैठकले आईसोलेशन बेडको संख्या २ हजार ४ सय ५० थप्ने निर्णय गरेको हो । हाल प्रदेशले १ हजार २ सय ५८ वटा आईसोलेशन बेड तयारी अवस्थामा राखेको छ ।
समितिले दिएको जानकारी अनुसार १० प्रतिशत महिलाहरुको लागि सुरक्षित गरी उपत्यकाका ३ जिल्लामा १ हजार, चितवन, मकवानपुर, धादिङ, नुवाकोट, काभ्रेपलाञ्चोक र सिन्धुलीमा २/२ सय, सिन्धुपाल्चोकमा १ सय र दोलखा, रामेछाप र रसुवामा ५०/५० वटा आईसोलेशन बेड तयार गरिने छ । यसैगरी बैदेशिक रोजगारीमा गई स्वदेश फर्कने नेपाली नागरिकहरुलाई त्रिभुवन विमानस्थलदेखि जिल्ला सदरमुकामसम्म पुग्ने यातायातको व्यवस्था खर्च बैदेशिक रोजगार बोर्डले व्यहोर्नको लागि केन्द्रीय कोरोना संकट व्यवस्थापन केन्द्रलाई अनुरोध गर्ने र सदरमुकामदेखि स्थानीय तहसम्मको यातायातको व्यवस्थापन खर्च स्थानीय तहले गर्ने निर्णय भएको छ । यसैगरी सम्बन्धित मुलुकले नै हवाई यातायातको व्यवस्था गरी स्वदेश फर्कने नेपाली नागरिकको हकमा त्रिभुवन विमानस्थलदेखि सम्बन्धित जिल्ला सदरमुकामसम्मको यातायात खर्च प्रदेश सरकारले व्यहोर्ने गरी सम्बन्धित निर्देशिका परिमार्जन गर्न संघीय सरकारसँग अनुरोध गर्ने समितिले निर्णय गरेको छ ।
यसैगरी विदेशबाट आउने बागमती प्रदेशका नागरिकहरुलाई सुरक्षित रुपमा काठमाडौंमा रहेको होल्डिङ सेन्टरदेखि जिल्ला सदरमुकामसम्म पु¥याउन उपत्यकाका ३ जिल्लाका कोभिड संकट व्यवस्थापन समितिले समन्वय गरी आवश्यक व्यवस्थापन गर्ने जनाइएको छ । कोभिड १९ का संक्रमितको उपचार र संक्रमण रोकथामका लागि आवश्यक पर्ने स्वास्थ्य सामग्रीहरू मध्ये केन्द्रबाट प्राप्त हुने औषधी तथा उल्लेख भएका सामाग्रीहरु बाहेक प्रदेशलाई आवश्यक पर्ने सामाग्रीहरुको व्यवस्थापन, प्रदेशस्तरमा पीसीआर टेष्ट र प्रयोगशालाको क्षमता बढाउन सामाजिक विकास मन्त्रालयले व्यवस्था मिलाउने पनि समितिको निर्णय छ ।
कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि भौतिक र जग्गा व्यवस्थापनको कार्य जिल्ला कोभिड संकट व्यवस्थापन समितिले स्थानीय तहसँग समन्वय गर्ने, नयाँ भवन निर्माण गर्नुपर्ने भएमा लागत अनुमान लगायतका कार्यहरु भौतिक पूर्वाधार विकास मन्त्रालयले व्यवस्था मिलाउने, आइसोलेशन वार्ड संचालनको कार्य जिल्ला कोभिड संकट व्यवस्थापन समितिसँगको समन्वयमा सामाजिक विकास मन्त्रालयले व्यवस्था मिलाउने निर्णय गरिएको छ । कोभिड १९ बाट बढी मानिसहरु संक्रमण भएका जिल्लाका कोभिड संकट व्यवस्थापन समितिले पूर्ण बन्दाबन्दी गर्न सिफारिस गरेमा संघीय सरकारको कोभिड संकट व्यवस्थापन समितिको परामर्शमा प्रदेश सरकारले पूर्ण बन्दाबन्दी घोषणा गर्न सक्ने व्यवस्था भएकोले यस्तो अवस्था आइपरेमा सम्बन्धित जिल्लाको कोभिड संकट व्यवस्थापन समितिले प्रदेशमा सिफारिस गर्न निर्देशन दिने निर्णय गरिएको छ ।
बागमती प्रदेश कोरोना कोषमा ४३ करोड १९ लाख २९ हजार ९ सय २ रुपैयाँ संकलन भएको छ भने १ सय १९ वटा स्थानीय तहमा १३ करोड ७ लाख र १२ जिल्ला प्रशासन कार्यालयहरुमा ६० लाख निकासा गरिएको छ । कोरोना भाइरस रोकथाम, नियन्त्रण र उपचारका लागि बागमती प्रदेश सरकारबाट सामाजिक विकास मन्त्रालयमार्फत विभिन्न स्वास्थ्य निकायहरुमा रु १६ करोड ३१ लाख ५१ हजार र संघीय सशर्त अनुदानबाट प्राप्त बजेट २ करोड ७० लाख गरी जम्मा १९ करोड १ लाख ५१ हजार रुपैयाँ निकासा भएको छ ।