सांकेतिक तस्वीर ।

हेटौँडाः सिन्धुली, चितवन र धादिङ जिल्लामा विभिन्न घटनामा ४ जनाको मृत्यु भएको छ । बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले दिएको जानकारीअनुसार सिन्धुली जिल्लाको हरिहरपुरगढी गाउँपालिका–४, सिमलपुरमा वेवारिसे अवस्थामा फेला परेका एक वृद्धको मृत्यु भएको छ । मृत्यु भएका वृद्ध हरिहरपुरगढी गाउँपालिका–३, लिम्बुटार बस्ने ७६ वर्षीय सोबीलाल वाईबा रहेको प्रहरीले जानकारी दिएको छ ।

शुक्रबार साँझ ५ बजेर ३० मिनेटको समयमा मदनभण्डारी राजमार्ग सडक छेउमा वाईबा वेबारिसे अवस्थामा फेला परेका थिए । स्थानीय मेडिकलमा उपचार पश्चात वाईबालाई थप उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र कपिलाकोट लगिएकोमा बेलुका ७ बजेको समयमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

यस्तै, चितवन जिल्लाको भरतपुर महानगरपालिका–५, नारायणपुरमा धारामा लडेर एक जना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा ८७ वर्षीया चन्द्रकला तिमल्सेना रहेको प्रहरीले जानकारी दिएको छ । शुक्रबार बेलुका ११ बजेर ३० मिनेटको समयमा वृद्ध आफ्नै घरको धारामा चिप्लेर लड्दा घाइते भएकी थिईन् । घाइते वृद्धालाई उपचारका लागि भरतपुर अस्पताल लगिएकोमा शनिबार बिहान ३ बजेर ३० मिनेटको समयमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

चितवन जिल्लाकै खैरहनी नगरपालिका–१०, कठारमा अत्यधिक रक्तश्रावका कारण एक जना पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा ३१ वर्षीय सिंहराम प्रजा रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ । शुक्रबार प्रजालाई घरमा तिघ्राको कापबाट रगत बगिरहेको अवस्थामा फेला पारी उपचारका लागि भरतपुर अस्पताल लगिएकामा उपचारका क्रममा अत्यधिक रक्तश्रावका मृत्यु भएको जनाएको छ । प्रजाले लागुऔषध सेवन गर्ने गरेको पाइएको प्रहरीले जानकारी दिएको छ ।

धादिङ जिल्लाको गजुरी गाउँपालिका–१, गजुरीबजारमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सिद्धलेक गाउँपालिका–६, का २० वर्षीय सनि घले रहेको प्रहरीले जानकारी दिएको छ । शुक्रबार काठमाडौंबाट हेटौँडातर्फ जाँदै गरेको ना ६ ख २९२० नम्बरको ट्रकले बाटो काट्दै गर्दै गरेको प्रदेश ०३–०२–००६ प २५८७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा घले र गजुरी गाउँपालिका–१, सुन्दरगाउँका १५ वर्षीय सुविन बराईली घाइते भएका थिए । घाइते दुबैलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र गजुरी लगिएकोमा घलेको उपचारका क्रममा मृत्यु भएको थियो । बराईलीलाई सामान्य उपचार पश्चात थप उपचारका लागि मेडिसिटि अस्पताल काठमाडौं लगिएको प्रहरीले जानकारी दिएको छ ।