हेटौंडा–४, कर्रास्थित श्रमिक माविको भवन, जहाँ आइसोलेसन कक्ष निर्माण गरिएको छ ।

हेटौंडाः कोरोना भाइरस संक्रमण पुष्टि भएर हेटौंडा–४, कर्रास्थित आइसोलेसन कक्षमा रहेका मनहरी गाउँपालिकाका एक युवक कोरोना संक्रमण मुक्त भएका छन् । असार ५ गते कोरोना भाइरस संक्रमण देखिएपछि आइसोलेसन कक्षमा भर्ना भएका २८ वर्षीय पुरुष शनिबार डिस्चार्ज भएको आइसोलेसन वार्डका इन्चार्ज भोला चौलागाईले जानकारी दिनुभएको छ ।

अहिले हेटौंडास्थित आइसोलेसन वार्डमा एक वृद्धासहित ४ जना कोरोना संक्रमित उपचाररत छन् । आइसोलेसन वार्डमा हेटौंडा–१३ की ६५ वर्षीया वृद्धासहित मनहरी गाउँपालिकाका २६ वर्ष उमेरका दुईजना पुरुष र बकैया गाउँपालिकाका १७ वर्षीय किशोर उपचाररत छन् । कोरोना भाइरस संक्रमित चारैजना भारतबाट आएका हुन् । शनिबार आइसोलेसन वार्डबाट १० जना डिस्चार्ज भएका छन् । आइतबार बिहानसम्म आइसोलेसन वार्डमा ४ जना संक्रमित सहित १० जना उपचाररत रहेको इन्चार्ज चौलागाईले जानकारी दिनुभएको छ । आइसोलेसन वार्डमा रहेका व्यक्तिहरुको पिसिआर परिक्षण पनि तीव्र गतिमा भइरहेको चौलागाईले बताउनु भयो ।