स्थापना दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा रक्तदान गर्नुहुँदै शिक्षकहरु ।

हेटौँडाः हेटौँडा–४ स्थित आधुनिक राष्ट्रिय माध्यमिक विद्यालयको ५६ औं स्थापना दिवसको अवसरमा विविध क्रियाकलापको आयोजना गरिएको छ । स्थापना दिवसको अवसरमा मंगलबार विद्यालय परिसरमा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । कार्यक्रममा २२ जनाले रक्तदान गरेका छन् ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोहम्मद समीमको अध्यक्षता तथा वडा अध्यक्ष नवीन सिग्देलको प्रमुख आतिथ्यमा स्थापना दिवस समारोह भएको हो । तीन दिन विविध क्रियाकलाप गरी स्थापना दिवस मनाउन लागिएको विद्यालयका प्रधानाध्यापक रामसागर गुरागाईले जानकारी दिनुभएको छ । मंगलबार विद्यार्थीबीच वक्तृत्वकला, अंग्रेजी हिज्जे, हाजिरीजवाफ, जुत्ता–टाइ दौड, कपाल बाट्ने प्रतियोगिता आयोजना गरिएको छ भने शिक्षकहरुबीच म्युजिकल चेयर र घैँटो फुटाई कार्यक्रम गरिएको छ ।

स्थापना दिवसको अवसरमा आयोजित जुत्ता–टाई दौडमा सहभागी विद्यार्थीहरु ।

यस्तै बुधबार सेवानिवृत्त शिक्षकलाई सम्मानसँगै स्थापना दिवसको अवसरमा आयोजित प्रतियोगितामा विजेतालाई पुरस्कार वितरण गरिनेछ । हेटौँडा सामुदायिक आँखा अस्पतालसँगको सहकार्यमा बिहिबार विद्यार्थीका लागि आँखा शिविरको आयोजना गरिएको छ । १२ कक्षासम्म पठनपाठन हुने विद्यालयमा २ हजार ६ सय विद्यार्थी अध्ययनरत छन् ।