हेटौँडाः बीपी कोइरालाको अदालतमा बयान नामक कृति सार्वजनिक गरिएको छ । सामाजिक लोकतान्त्रिक अध्ययन केन्द्र मकवानपुरको शनिबार हेटौँडामा भएको चौथो साधारणसभामा अदालतमा बयान नामक कृति सार्वजनिक गरिएको हो ।
नेपाली काँग्रेसका सहमहामन्त्री महालक्ष्मी डीना उपाध्यायको प्रमुख आतिथ्य तथा केन्द्रका अध्यक्ष कृष्णप्रसाद दहालको सभाध्यक्षतामा कृति सार्वजनिक भएको हो । कृति सार्वजनिकको कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै डीनाले हरेक व्यक्तिहरुको कौशलता र विचार परिवर्तन गर्ने काममा बीपी कोइरालाले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभएको छ । देशमा सकारात्मक परिवर्तन ल्याउन बीपीले गरेको कामहरुलाई जनतामाझ पुर्याउनुपर्ने उहाँले बताउनुभयो । नेपाली जनताको सिरलाई ठाडो बनाउने काममा कोइरालाले उल्लेखनीय भूमिका निर्वाह गरेको बताउनुभयो । कृषि, आर्थिक, सामाजिक र समावेशीको विश्लेषण गरेर महिला, जनजातिका लागि कोइरालाले काम गरेको उहाँले बताउनुभयो ।
पार्टीभित्रका सदस्यहरु नैतिकवान बन्न नसके देश समृद्ध हुन नसक्ने उहाँले धारणा राख्नुभयो । पार्टीमा मानिसहरुले नराम्रो काम गरेका कारण पार्टीको आलोचना हुने उहाँको भनाइ छ । अरुको आलोचना गरेर अरुलाई गालीगलौज गरेर समाजमा राम्रो बन्न खोज्न नहुने उहाँले बताउनुभयो । लोकतान्त्रिक विचारका व्यक्तिहरुले बीपीले गरेको कामको बारेमा जानकारी लिन आवश्यक रहेको उहाँले बताउनुभयो । बीपीको धारणालाई बुझेर विदेशबाट फर्केर नेपालमा नै काम गर्न आवश्यक रहेको उहाँले स्पष्ट पार्नुभयो ।
संविधानसभा सदस्य प्रल्हाद लामिछानेले राजनीतिक, साहित्यिक र सामाजिक क्षेत्रमा बीपीले आफ्नो परिचय दिन सफल भएको बताउनुभएको छ । क्रान्तिमा भएको कुराहरुको जिम्मेवारी लिने आँट गरेको उहाँले बताउनुभयो । २०१५ सालमा दुई तिहाई मत प्राप्त गरेर बीपी प्रधानमन्त्री बन्न सफल भएको उहाँले स्मरण गर्नुभयो । तत्कालीन समाजमा थुप्रै व्यवधान भएपनि लोकतन्त्र र प्रजातन्त्रका लागि बीपी कोइराला लड्न सफल भएको उहाँले बताउनुभयो । नेकपा एमालेका युवा नेता इन्द्र नेपालले आन्तरिक उत्पादनलाई सीपसँग जोड्न आवश्यक रहेको बताउनुभयो । सबै दलहरुले आफ्नो काम गरेको छ कि छैन ? जनताको पक्षबाट काम गर्यो कि गरेन ? भन्ने कुरा मनन गर्नुपर्ने उहाँले औँल्याउनुभयो ।
नेपाली कांग्रेसका युवा नेता आनन्दराम पराजुलीले सबै पार्टीका मानिसहरुले समाजमा सकारात्मकरुपले काम गर्न आवश्यक रहेको बताउनुभयो । अहिले नेपालको राजनीति चित्तबुझ्दो नभएको उहाँले बताउनुभयो । देश बनाउने काममा सबै दलका मानिसहरु एक हुनुपर्ने उहाँको धारणा छ । राजनीतिक क्षेत्रका मानिसहरुमा सुधार नभएका कारण मानिसहरुले विदेशिने क्रम बढ्दै गएको उहाँले बताउनुभयो । मकवानपुर जिल्लालाई राजनीतिक क्षेत्रमा शुद्धीकरण गरेर सही प्रतिनिधिलाई जिताउनुपर्ने उहाँले बताउनुभयो । नेपाली कांग्रेस मकवानपुरका पूर्वसभापति रघुरमण न्यौपानेले बीपी निरंकुश राज्यको विरुद्धमा गएको बताउनुभयो । बहुदलीय व्यवस्थाले गल्तीलाई सुधार्दै लैजाने काम गर्ने उहाँले बताउनुभयो ।