दोस्रो प्रदेश युवा सम्मेलन २०८१ को अन्तिम दिन आइतबार मुख्यमन्त्रीसँग युवा प्रश्नोत्तर कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मुख्यमन्त्री जम्कट्टेल ।

हेटौंडाः बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले युवालाई तालिम र रोजगारी दिने प्रदेश सरकारको मुख्य योजना रहेको बताउनुभएको छ । हेटौंडामा जारी दोस्रो प्रदेश युवा सम्मेलन २०८१ को अन्तिम दिन आइतबार मुख्यमन्त्रीसँग युवा प्रश्नोत्तर कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मुख्यमन्त्री जम्कट्टेलले यस्तो बताउनुभएको हो ।

प्रदेश सरकार आगामी आर्थिक वर्ष २०८१-०८२ को बजेट निर्माणको चरणमा रहेकाले युवालाई समेटेर बजेट निर्माण गर्नेसमेत उहाँले बताउनुभयो । युवा सम्मेलनले बजेट निर्माणमा समेत सहयोग पुग्ने उहाँले धारणा राख्नुभयो । प्रदेश युवा सम्मेलन जुन उद्देश्यले आयोजना भएको थियो सोही उद्देश्य हासिल गर्न सफल भएको उहाँको भनाइ छ । प्रदेशका युवालाई व्यापार व्यवसायसँग जोड्न र समग्रमा युवालाई सही दिशानिर्देश गर्ने सम्मेलनको उद्देश्य रहेको उहाँको धारणा थियो । वर्तमान समयमा बागमती प्रदेश सरकार शिक्षाको गुणस्तरमा सुधार गरी प्रदेशको परीक्षा नीतिलाई आमूल परिवर्तन गर्ने पक्षमा रहेको बताउनुभयो । प्रदेशको शिक्षा नीति संघीय सरकारअन्तर्गत् रहेकोले शिक्षा क्षेत्रमा सुधार गर्ने भनेता पनि त्यसो हुन नसकेको बताउँदै उहाँले भन्नुभयो, ‘मेरो विचारमा विद्यार्थीहरू फेल हुनुहुन्न । विद्यार्थीको क्षमताको आधारमा नतिजा निकालिनुपर्छ ।’ अहिले विशुद्ध सैद्धान्तिक शिक्षा प्रणाली लागू भएको उहाँले बताउनुभयो । ‘हामीले शिक्षा त हासिल ग¥यौं, तर रोजगारी प्राप्त गर्न सकेनौं’, मुख्यमन्त्री जम्कट्टेलले भन्नुभयो– ‘प्राविधिक शिक्षामा जोड दिने गरी बागमती प्रदेशले शिक्षा नीति निर्माण गरेको छ । उक्त शिक्षा नीति कार्यान्वयनमा लाने तयारी हुँदैछ ।’ पछिल्लो समय ग्रामीण भेगमा विद्यालयको भवन राम्रो भए पनि अध्ययन गर्ने विद्यार्थी र अध्यापन गराउने शिक्षक नभएको उहाँको भनाइ छ ।

प्रदेश सरकारले नयाँ शिक्षा नीति निर्माण गरी एक वडा एक माध्यमिक विद्यालय निर्माण गर्ने उहाँले दावी गर्नुभयो । प्रदेश सरकारले सिटीईभीटीको पाठ्यक्रम माध्यमिक तहमा नै अध्यापन गराउने लक्ष्य राखेको उहाँको भनाइ छ । प्रदेश सरकारले नेपालमा नै नभएको शिक्षा नीति निर्माण गरेर जान लागेको दाबी गर्दै विश्वविद्यालय स्थापना गरी कृषि, स्वास्थ्य, इन्जिनियरिङ, पर्यटन र खेलकुद विषय अध्यापन गराइने मुख्यमन्त्री जम्कट्टेलले बताउनुभयो । अहिले बागमती प्रदेशको दोस्रो आवधिक योजना बनाउने चरणमा रहेकाले आवधिक योजनामा विज्ञहरूको विभिन्न सल्लाहअनुसार बागमती प्रदेश सरकारले ५ वर्षमा के काम गर्ने भन्ने प्रष्ट नीति तथा कार्यक्रम ल्याउने धारणा राख्नुभयो । पछिल्लो समय युवामा राजनीतिप्रति वितृष्णा पैदा भएको सुनिने गरेको भन्दै राजनीतिप्रति वितृष्णा पैदा गर्नुपर्ने अवस्था नरहेको मुख्यमन्त्री जम्कट्टेलले बताउनुभयो । मुलुक संघीयतामा प्रवेश गरेपछि विकासका कार्यले गति लिएको उहाँले बताउनुभयो । ‘प्रदेश सरकारको कार्यक्रम अधिकांश ग्रामीण क्षेत्रमा पुगेका छन्, तर हामीले युवाहरूलाई विश्वास दिलाउन सकिरहेका छैनौँ’, मुख्यमन्त्री जम्कट्टेलले भन्नुभयो– ‘देशका युवाहरू विदेशिनुपरेको छ, युवाहरू विदेशिनु नराम्रो नभए पनि सीप सिकेर आफू दक्ष भएर जानुपर्छ । बागमती प्रदेश सरकार युवाहरूलाई कसरी सीपयुक्त तथा दक्ष बनाउन सकिन्छ भनी लागिरहेको छ ।’

पछिल्लो समय युवाले दलीय व्यवस्थाप्रतिको बुझाइमा केही परिवर्तन भएको भन्दै मुख्यमन्त्री जम्कट्टेलले युवाले सबै राजनीतिक दललाई बेठिक भन्न नमिल्ने बताउनुभयो । देशलाई वर्तमान अवस्थासम्म ल्याउन राजनीतिक दलको भूमिकाले नै सम्भव भएको उहाँको भनाइ छ । संविधान निर्माणपश्चात् राजनीतिक दलहरूमा धेरै परिवर्तन आएको भन्दै दलहरूले उत्तरदायी ढङ्गले काम गर्दै आएको बताउनुभयो । युवा वर्गले अध्ययनमा जोड दिनुपर्ने मुख्यमन्त्री जम्कट्टेलको धारणा थियो । प्रदेश सरकारले तामाङ भाषा र नेपाल भाषालाई सरकारी कामकाजी भाषाको रूपमा कार्यान्वयनमा ल्याएको बताउँदै उहाँले प्रदेशभित्र रहेका कला, संस्कृतिहरू संरक्षण गर्न ऐन निर्माणको क्रममा रहेको जानकारी गराउनुभयो । ऐन निर्माण भएर लागू भएपछि लोप भएर जान लागेको कला, संस्कृतिको संरक्षण हुने उहाँको विश्वास छ । पछिल्लो समय संघीयता महँगो भयो भनेर गलत भ्रम छरिएको मुख्यमन्त्री जम्कट्टेलको दावी छ । ‘वर्तमान राज्य पुनर्संरचना हुनुअघि नेपालमा स्थानीय तहहरू ४ हजार माथि रहेका थिए, तर अहिले ७५३ स्थानीय तह रहेका छन् । वर्तमान समयमा गाउँमा भएको विकास स्थानीय तहको सक्रियताले सम्भव भएको छ’, मुख्यमन्त्री जम्कट्टेलले भन्नुभयो– ‘संघीयताले खर्च बढाएको नभई खर्च घटाएको छ । हिजो १४ वटा अञ्चल थिए, आज जम्मा ७ प्रदेश छन् । वडा तथा स्थानीय तहको संख्या उल्लेख मात्रामा घटेको छ र प्रशासनिक खर्च अहिले घटेको छ ।’

आगामी वर्ष युवा सीप वर्ष घोषणा गरिने चरणमा रहेको बताउँदै प्रदेश सरकारले यसवर्ष १५ हजार युवालाई सीपमूलक तालिम दिने उहाँको दाबी छ । पछिल्लो समय सरकारले युवाको लागि साना व्यवसाय सञ्चालन गर्न छुट्याएको रकम बैंकमा नै रहेको र ऋण प्रवाह हुन नसकेकाले प्रदेश सरकारले आफैं बैंक स्थापना गरी ऋण प्रवाह गर्नेसमेत मुख्यमन्त्री जम्कट्टेलले बताउनुभएको छ । सरकारले युवा लक्षित कार्यक्रमका लागि ३ अर्ब रुपैयाँ विनियोजन गर्ने बताउनुभयो । बागमती प्रदेश सरकारले विकास सूचकांकमा पछि परेका स्थानमा विकासको कार्य गर्दै आएको उहाँले दाबी गर्नुभयो । प्रदेश सरकारले सडक, स्वास्थ्य, शिक्षा, खानेपानीको क्षेत्रमा जोड दिएको उहाँको भनाइ छ । प्रदेश सरकार विकट र दुर्गम ठाउँको विकासमा लागिपरेको मुख्यमन्त्री जम्कट्टेलको दावी छ ।