Home मुख्य समाचार मकवानपुरगढीमा सार्वजनिक सुनुवाइ, विपद्का घटनाबाट बचाउन स्थानीयको आग्रह

मकवानपुरगढीमा सार्वजनिक सुनुवाइ, विपद्का घटनाबाट बचाउन स्थानीयको आग्रह

कार्यक्रममा सहभागीहरु

हेटौंडाः स्थानीयस्तरमा हुने गरेको आगलागी, चट्याङ, बाढी, पहिरोजस्ता विपद्का विषयमा सार्वजनिक सुनुवाइ कार्यक्रम गरिएको छ । मकवानपुरगढी गाउँपालिका वडा नम्बर–६, भालुखोलामा कार्यक्रम गरिएको हो ।

जनपत्र मिडिया प्रालि हेटौंडा–२ को आयोजना तथा संसद सहयोग परियोजना संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडीपी) को सहकार्यमा सार्वजनिक सुनुवाइ भएको छ । कार्यक्रममा सहभागी स्थानीय बासिन्दाहरुले विपद्का घटनाबाट जोगाउन बागमती प्रदेशका सांसद, मन्त्री तथा स्थानीय तहका जनप्रतिनिधिहरुसँग आग्रह गरेका छन् ।

बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले विपद् व्यवस्थापन गर्नु नै प्रमुख सवाल रहेको बताउनुभयो । सार्वजनिक सुनुवाइ कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले आगलागी, वन डढेलोजस्ता विपद्को सवालमा व्यवस्थापन नै महत्वपूर्ण रहेको बताउनु भएको हो ।

मन्त्री थपलियाले वन जोगाउन हिजो जनतामा जुन प्रकारको जतन÷चासो देखिन्थ्यो, आज त्यो नरहेको बताउनुभयो । अहिलेको अवस्थामा दैवीप्रकोपबाट जोगाउने विषयमा बेवास्ता बढेकाले चुनौती भइरहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो– ‘नियन्त्रणको लागि अब सचेतना बढाउनुको विकल्प छैन । पर्या–पर्यटनलाई जोगाउनु पर्छ । यसमा जनताको चासो र चिन्ता चाहिन्छ । पहिरो नियन्त्रण सम्भव छ । यी सवालहरुमा विज्ञसँग छलफल गरेर आगामी बजेटबाट सम्बोधन गर्न प्रदेश सरकार तयार छ ।’

बागमती प्रदेशका वन तथा वातावरणमन्त्री केशवप्रसाद पोखरेलले विपद्बाट बचाउँदै जिउधनको सुरक्षा गर्ने काम जनप्रतिनिधिको रहेको बताउनु भएको छ । सार्वजनिक सुनुवाइ कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पोखरेलले अहिले बजेट र योजना बनाउने बेलामा सार्वजनिक सुनुवाइ गरेर जनताको गुनासो सुन्ने उचित समय भएको बताउनुभयो ।

सार्वजनिक सुनुवाइ कार्यक्रमका सुझावलाई योजनामा समेट्न सजिलो हुने मन्त्री पोखरेलको भनाइ छ । ‘जनताको जिउधनको सुरक्षा हामी जनप्रतिनिधिहरुको कर्तव्य हो’, मन्त्री पोखरेलले भन्नुभयो– ‘आगामी योजनामा जनगुनासाहरुलाई समेट्न कोशिस गरिनेछ ।’ आगालागी नियन्त्रणको लागि पूर्वतयारी आवश्यक भएको आभाष गरेको मन्त्री पोखरेलले बताउनुभयो ।

प्रदेशको कुल भूभागको ५३ प्रतिशत जमिन वनले ढाकेको बताउँदै उहाँले भन्नुभयो– ‘वनलाई आर्यआर्जनसँग जोड्न र वनको काठ प्रयोग गर्न प्रदेश सरकारले यसअघि (चैत्र २० गते) नै स्वदेशी काठमात्रै प्रयोग गर्ने निर्णय गरिसकेको छ । वनमा डढेलो लाग्नै नदिन र वनलाई जनजीविकासँग जोड्न प्रदेश सरकारलाई दबाब पुगेको छ । स्थानीय समूह, स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारको समन्वयमा यस्ता विपद् रोक्नका लागि सहकार्य गर्नुपर्छ ।’

बागमती प्रदेशसभाका सदस्य भारती पाठकले वन डढेलोले मानवीय क्षतिको समेत जोखिम बढेको बताउनुभएको छ । सार्वजनिक सुनुवाइ कार्यक्रममा बोल्दै उहाँले वनमा डढेलो लाग्न नदिन सचेत हुनुभन्दा लापरबाही बढी हुन थालेको बताउनुभयो ।

प्रदेशसभा सदस्य पाठकले भन्नुभयो–‘वन डढेलो आवश्यक पनि छ । तर, अहिले व्यवस्थापनको कमजोरी र सीपको अभावका कारण वन डढेलो विपद् बन्न पुगेको हो ।’ यसको बारेमा बहस हैन पूर्वतयारी आवश्यक रहेको उहाँले बताउनुभयो । वनको काठ, जडिबुटी नष्ट भएको उहाँले बताउनुभयो । अहिले वन जोगाउन जनचेतनासँगै सीप पनि चाहिएको भन्दै प्रदेशसभा सदस्य पाठकले अग्नि नियन्त्रणमा लाग्नेहरुको सुरक्षामा प्रदेश सरकारको भूमिकाबारे समितिमा सल्लाह गर्ने बताउनुभयो ।

बागमती प्रदेशसभा सदस्य लक्ष्मी श्रेष्ठले सबैले आ–आफ्नो स्थानमा विपद्बाट बच्न ध्यान दिनुपर्ने बताउनुभयो । अहिले बागमती प्रदेश र मकवानपुर जिल्लामा समेत विपद्का घटना धेरै भएकाले यसको पूर्वतयारीमा लाग्न सरकारले ध्यान दिनुपर्नेमा उहाँले जोड दिनुभयो ।

जनपत्र मिडिया प्रालिका अध्यक्ष हरि हुमागाईको अध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेशसभा सदस्य विन्दु श्रेष्ठ, सकुन्तला श्रेष्ठ, बालकुमारी विश्वकर्मा, मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष दोर्जे लामा स्याङ्तान, निवर्तमान अध्यक्ष विदुर हुमागाई, वडा नम्बर ६ का वडा अध्यक्ष कृष्णप्रसाद बजगाईले विपद्बाट हुने जोखिम नियन्त्रणका लागि सबै एक भएर लाग्नुपर्ने बताउनुभयो ।

मकवानपुरगढी गाउँपालिकाभित्र रहेको शिवम् सिमेन्ट र हेटौंडा सिमेन्ट उद्योगको खानीमा जथाभावीरुपमा उत्खनन् गरेका कारण बाढी, पहिरोका घटना बढ्दै गएको स्थानीय टीका दाहालले गुनासो गर्नुभयो । विशेषगरी मकवानपुरगढीको बुङ्दल, सोलिथुमको चुहारलगायतका क्षेत्रमा निकै चट्याङका घटना हुने गरेको सहभागीहरुको गुनासो छ । निर्माणाधीन पुल समयमा नबन्दा वर्षायाममा भेलले गाउँलाई असर गर्ने मकवानपुरगढी–५ का अर्जुन न्यौपानेले बताउनुभयो ।

Exit mobile version