लघु उद्यमीलाई ई–कमर्शसम्बन्धी तालिमका क्रममा खिचीएको तस्वीर ।

हेटौंडाः बागमती प्रदेशका १३ जिल्लाका साना तथा लघु उद्यमीहरुलाई हेटौंडामा ई–कमर्शसम्बन्धी ३ दिने तालिम सुरु भएको छ । बिहीबार नेपाली मौलिक कला र सीपमा आधारित लघु तथा घरेलु उद्योगका उत्पादनहरु प्रवद्र्धनका लागि उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय बागमती प्रदेशको आयोजना र नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशको संयोजनमा तालिम सुरु भएको हो ।

उद्यमीलाई अनलाइनको माध्यमबाट आफूले उत्पादन गरेको वस्तु अन्तर्राष्ट्रिय बजारमा पुर्याउन सक्ने बनाउन तालिम सञ्चालन भएको हो । निर्देशनालयको आर्थिक वर्ष २०८०/०८१ मा स्वीकृत वार्षिक सीप विकास कार्यक्रमअन्तर्गत् साना तथा लघु उद्यमीहरुलाई ई–कमर्शसम्बन्धी तालिम सुरु भएको हो ।

तालिममा १३ जिल्लाका २८ वटा जिल्ला÷नगर उद्योग वाणिज्य संघ, घरेलु तथा साना उद्योग महासंघ, निर्देशनालय मातहतका ७ वटा उद्योग वाणिज्य कार्यालय र मकवानपुर बहुमुखी क्याम्पसका विद्यार्थी गरी १ सय जनाको सहभागिता रहेको छ । तालिममा साना तथा लघु उद्यमीहरुले आफ्ना वस्तु तथा सेवाहरुलाई कसरी डिजिटल प्लेटफर्ममा समावेश गर्ने, कुन प्लेटफर्म उपयुक्त हुन्छ, कस्तो प्रस्तुति दिने, स्वदेश तथा विदेशमा समेत कसरी बजार खोज्ने, नेटवर्किङ, डिजिटल पेमेन्ट, साइबर सुरक्षालगायतका विषयहरुमा ज्ञान र सीप हासिल गर्ने लक्ष्य राखिएको छ ।

तालिममा नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशको लघु तथा घरेलु उद्योग समितिका सदस्य मधुसुधन गुरागाईंले सहजीकरण गर्नुभएको छ । तालिममा सौरभ चालिसे र पियुषलाल श्रेष्ठले प्रशिक्षण दिइरहनु भएको छ । तालिम शनिबारसम्म चल्नेछ ।

तालिम उद्घाटन कार्यक्रममा बागमती प्रदेशको उद्योग, वाणिज्य, भूमि तथा प्रशासनमन्त्री प्रकाश श्रेष्ठको प्रमुख आतिथ्य तथा बागमती प्रदेशका निर्देशक गोविन्द सिग्देलको सभाध्यक्षता रहेको थियो । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशका उपाध्यक्ष गुणराज श्रेष्ठ, लघु तथा घरेलु उद्योग समितिका सभापति लक्ष्मी खनाललगायतको उपस्थिति रहेको थियो ।