हेटौँडाः बागमती प्रदेशसभाको वर्षे अधिवेशन वैशाख ३१ गतेका लागि आह्वान गरिने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले वैशाख ३१ गते दिउँसो १ बजेका लागि वर्षे अधिवेशन आह्वान गर्न प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको आन्तरिक मामिला तथा कानुन मन्त्री एवम् प्रवक्ता गङ्गानारायण श्रेष्ठले जानकारी दिनुभयो ।
यस्तै, मन्त्रिपरिषद् बैठकले प्रदेश नीति तथा योजना आयोगमा दीपेन्द्र श्रेष्ठलाई नियुक्त गर्ने निर्णय गरेको छ । यस्तै, नमुना वडा समाजवादी कार्यक्रम कार्यान्वयन कार्य विधि २०८० को पहिलो संशोधन स्वीकृत गरिएको छ । बैठकले लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण परीक्षण मापदण्ड २०८१ स्वीकृत भएको छ । प्रदेश प्राविधिक तथा व्यावसायिक शिक्षा एवम् तालिम परिषद्, स्थापना हुने स्थान, सङ्गठन तालिका, दरबन्दी तेरिज, कार्य विवरण, छाप र साइनबोर्ड स्वीकृत भएको छ । वन क्षेत्र प्रयोग हुने रुख कटान गर्ने प्रस्ताव स्वीकृत भएको छ ।
प्रदेशको ग्रामीण सडक सञ्जाल सुधार आयोजनाको कार्यालय स्थानान्तरण गर्ने, खरको छानो मुक्त बागमती प्रदेश कार्यक्रम पहिलो संशोधन कार्यविधि २०८१, स्वीकृत भएको प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो ।