हेटौंडाः हेटौंडा उपमहानगरपालिका–१८, हर्नामाडीको ज्योति माध्यमिक विद्यालयमा संस्कृत विषयको अध्यापन सुरु भएको छ । चालु शैक्षिक सत्रबाट विद्यालयमा संस्कृत अध्यापन सुरु भएको विद्यालयका प्रधानाध्यापक जयराम थापाले जानकारी दिनुभयो ।
विद्यालयमा ६ कक्षाबाट संस्कृत अध्यापन सुरु भएको हो । विद्यालयले यस वर्ष २०–२५ जना विद्यार्थी जम्मा गर्ने लक्ष्य राखेकोमा हालसम्म १८ जना विद्यार्थी अध्ययनरत रहेका छन् । संस्कृतमा नेपाली, अंग्रेजी, गणित, सामाजिकसँगै र २ वटा संस्कृतको विषय अध्यापन हुने थापाले बताउनुभयो ।
विद्यालयमा संस्कृत अध्ययनका लागि बारा, रौतहट, सर्लाही र मकवानपुरका विभिन्न स्थानबाट विद्यार्थी आएका छन् । ज्योति माविमा सहकार्य गरेर समिति निर्माण गरी अवकास प्राप्त शिक्षकहरुले हाललाई स्वयम्सेवीरुपमा अध्यापन गराउँदै आइरहनुभएको छ ।
कक्षा १२ सम्म अध्यापन हुने विद्यालयमा १२ सय विद्यार्थी अध्ययनरत रहेका छन् भने ४५ जना शिक्षक रहनुभएको छ । विद्यालयमा सिटीइभीटीअन्तर्गत् ३ वर्षे आईटी कक्षा सञ्चालन हुँदै आइरहेको छ । विद्यालयमा सञ्चालनमा रहेको आईटीलाई व्यापक बनाउने उद्देश्य रहेको प्रधानाध्यापक थापाको भनाइ छ ।
विद्यालयमा भौतिक संरचना पूरा भएको बताउँदै आगामी दिनमा विद्यालयमा शैक्षिक गुणस्तर विकासमा जोड दिने धारणा प्रधानाध्यापक थापाले राख्नुभयो । विद्यालयलाई जिल्लाकै नमुना विद्यालयको रूपमा स्थापना गर्ने योजनाका साथ अघि बढेको उहाँको दाबी छ । विद्यालयमा कक्षा ११–१२ मा अहिले शिक्षा र व्यवस्थापन विषय अध्यापन हुँदै आएको छ । विद्यालयले मूर्तिकलाको लागि सामान्य आधार तयार पारेर अगाडि बढेको उहाँको भनाइ छ ।
विद्यालयमा नेपाली र अंग्रेजी दुबै माध्यमबाट अध्यापन हुँदै आएको छ । आगामी दिनमा विद्यालयले विद्यार्थी संख्या बढाउने भन्दा पनि शैक्षिक गुणस्तर वृद्धि गर्न लागि परेको उहाँको भनाइ छ ।