Home मुख्य समाचार सशस्त्र प्रहरी बल मकवानपुरको १४ औं स्थापना दिवसः उत्कृष्ट कार्य गर्ने कर्मचारीहरु...

सशस्त्र प्रहरी बल मकवानपुरको १४ औं स्थापना दिवसः उत्कृष्ट कार्य गर्ने कर्मचारीहरु सम्मानित

सशस्त्र प्रहरी बल मकवानपुरको १४ औं स्थापना दिवसको उद्घाटन गरिदैँ ।

हेटौंडाः सशस्त्र प्रहरी बल (एपीएफ) नेपाल १४ नम्बर गण हेडक्वार्टर मकवानपुरको १४ औं स्थापना दिवसको अवसरमा आयोजित सप्ताहव्यापी कार्यक्रम सम्पन्न भएको छ । बुधबार उक्त गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक ज्ञानप्रसाद भुर्तेलको सभाध्यक्ष तथा सशस्त्र प्रहरी बल नेपाल ३ नम्बर गढीमाई बाहिनीका बाहिनीपति प्रहरी नायब महानिरीक्षक गणेश ठाडा मगरको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो ।

कार्यक्रममा बोल्नुहुँदै बाहिनीपति मगरले एपीएफले छोटो समयमा आफ्नो पहिचान स्थापित गर्न सफल भएको बताउनुभयो । उहाँले शान्ति सुरक्षा, सीमा सुरक्षा र नागरिकको जीवन रक्षामा सशस्त्र प्रहरी अहोरात्र खटिरहेको बताउनुभयो । यस्तै, १४ नम्बर गणका गणपति भुर्तेलले राज्यबाट प्राप्त अधिकारलाई पालना गर्दै सशस्त्रले काम गरिरहेको बताउनुभयो । मकवानपुरमा अफिम खेती नष्ट, लागूऔषध बरामद, अवैध सामग्रीहरु बरामद, वृक्षरोपण र सवारी दुर्घटनामा परेकाहरुलाई उद्दार कार्यमा सशस्त्र प्रहरीले काम गरिरहेको उहाँले बताउनुभयो ।

मकवानपुरमा १ गणसहित मद्दति तथा सेवा गुल्म, कारागार कार्यालय सुरक्षा बेश भीमफेदी, विपद् व्यवस्थापन बेश कुलेखानी र सुरक्षा बेश कत्लेखोला मनहरी गरी सशस्त्र प्रहरी बल नेपालका ५ वटा युनिटबाट उक्त कार्यहरु भइरहेको उहाँले बताउनुभयो । १४ नम्बर गणको आफ्नै भवन र जग्गा नहुँदा औद्योगिक क्षेत्रस्थित कपडा उद्योगको पुरानो र जीर्ण भवनबाट सेवा प्रवाह गरिरहेको बताउनुहुँदै उहाँले बदलिँदो सुरक्षा प्रणालीमा सेवा दिन केही चुनौती भएको बताउनुभयो ।

बागमती प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव पूर्णबहादुर दर्जीले सशस्त्र प्रहरीले सामाजिक स्थायित्व कायम गर्न सफल भएको बताउनुभयो । समाजमा शान्ति, सुरक्षा, विपद् व्यवस्थापन र राजस्व संकलनमा सशस्त्रको विशेष भूमिका रहेको उहाँको भनाइ छ । उहाँले १४ नम्बर गणलाई जग्गा प्राप्तिका लागि मन्त्रालयले सहयोग गर्नेसमेत बताउनुभयो ।

स्थापना दिवस केक काटेर मनाइएको छ । गत बैशाख १७ गतेदेखि सुरु भएको वार्षिकोत्सवअन्तर्गत् हेटौंडा अस्पताल सरसफाई कार्यक्रम, टेबलटेनिस, कर्मचारी र एपीएफबीच मैत्रीपूर्ण फुटबल र हाजिरीजवाफलगायतका कार्यक्रम आयोजना भएको थियो । समापन कार्यक्रममा उत्कृष्ट सबैलाई सम्मान गरिएको छ । जिम्मेवारी र कर्तव्य पालना गरी उत्कृष्ट ढङ्गबाट कार्यसम्पादन गरेको भन्दै सशस्त्र प्रहरीका नायव उपरीक्षक प्रदीपकुमार बस्नेत, वरिष्ठ नायव निरीक्षक एकबहादुर चौलागाई, नायव निरीक्षकद्वउ ऋषिराम बस्नेत र लक्ष्मण गौतम, वरिष्ठ हवल्दार प्रदीपकुमार थारु, हवल्दार प्रतावकुमार कार्की, सहायक हवल्दार उमेश लामा, सहायक जवान भोजराज कपाडी र परिचर महेशकुमार देउलालाई सम्मान गरिएको छ ।

कार्यक्रममा कैलाश गाउँपालिकाका अध्यक्ष लोकबहादुर मोक्तान, मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष दोर्जे लामा स्याङ्तान, इन्द्रसरोवर गाउँपालिकाका अध्यक्ष देवकृष्ण पुडासैनी, मकवानपुरका प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेढाई र जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक सीताराम रिजाललगायतको आतिथ्य रहेको थियो ।

Exit mobile version