हेटौंडाः ललितपुर जिल्लाको महांकाल गाउँपालिकाले आयोजना गरेको प्रथम संस्करणको प्रकाश दाहाल स्मृति बागमती प्रदेशस्तरीय अन्तरपालिका भलिबल प्रतियोगिताको उपाधि हेटौंडा उपमहानगरपालिकाले जितेको छ । बुधबार महांकाल गाउँपलिकाको गोटीखेल चौरमा सम्पन्न भएको फाइनल खेलमा हेटौंडाले मकवानपुरकै थाहा नगरपालिकालाई ३–२ को सेटले हराउँदै उपाधि जितेको मकवानपुर जिल्ला भलिबल संघका सदस्य नरेन्द्र मोक्तानले जानकारी दिनुभएको छ ।
पहिलो र दोस्रो सेटमा २६–२४ र २५–२१ ले जित निकालेको थाहा नगर तेस्रो, चौंथो र अन्तिम सेटमा हेटौंडासँग १८–२५, १४–२५ र ९–१५ ले पराजित भएको सदस्य मोक्तानले बताउनुभयो । प्रतियोगिताको उपाधि विजेता हेटौंडाले ३ लाख रुपैयाँ र उपविजेता थाहाले दुई लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेका छन् ।
सेमिफाइलमा पराजित हुने आयोजक महांकाल गाउँपालिका र सिन्धुली जिल्लाको घ्याङ्लेख गाउँपालिकाले एक–एक लाख रुपैयाँसहित प्रमाणपत्र प्राप्त गरेका छन् । प्रतियोगिताको विजेता, उपविजेता र सेमिफाइनलमा पराजित हुने टिमलाई राष्ट्रियसभाका अध्यक्ष नारायण दहालले पुरस्कार वितरण गर्नुभएको हो ।
प्रतियोगिताको सर्वोकृष्ट खेलाडी घोषित हुँदै थाहा नगरपालिकाका विष्णु क्षेत्रीले ५५ हजार रुपैयाँ प्राप्त गरेका छन् । यस्तै, हेटौंडाबाट उत्कृष्ट डिफेन्डर राजेन्द्र बलामी मगर, उत्कृष्ट सेटर हेटौंडाबाट सुजन चोखाल, उत्कृष्ट ब्लकर आयोजक महाँकाल गाउँपालिकाका जीवन सुनाल र उत्कृष्ट प्रशिक्षक हेटौंडाका पुष्प मैनाली घोषित हुँदै ५० हजार रुपैयाँको नगद राशि प्राप्त गरेका छन् ।
प्रतियोगितामा १६ वटा टिमको सहभागिता रहेको थियो । बागमती प्रदेश खेलकुद विकास परिषद्, जिल्ला खेलकुद विकास समिति ललितपुर, राष्ट्रिय खेलकुद परिषद् र नेपाल भलिबल संघको आयोजनामा प्रतियोगिता सञ्चालन भएको हो । प्रतियोगिता लिग कम नकआउटको आधारमा भएको हो ।
यसअघि मंगलबार सम्पन्न भएको पहिलो सेमिफाइनल खेलमा हेटौंडा उपमहानगरपालिकाले सिन्धुली जिल्लाको घ्याङ्लेख गाउँपालिकालाई ३–१ को सेटले हराउँदै फाइनलमा प्रवेश गरेको हो भने बुधबार सम्पन्न भएको दोस्रो सेमिफाइनलमा खेलमा आयोजक महांकाल गाउँपालिकालाई ३–२ को सेटले पराजित गर्दै मकवानपुरको थाहा नगरपालिका फाइनल प्रवेश गरेको हो । पहिलो र दोस्रो सेट क्रमशः २६–२४ र २५–१७ ले आफ्नो पक्षमा पारेको थाहा नगरले तेस्रो र चौथो सेट भने २२–२५ र १७–२५ ले गुमाएको थियो । अन्तिम सेट १५–११ ले आफ्नो पक्षमा पार्दै थाहा फाइनल प्रवेश गरेको हो ।
यस्तै, पहिलो सेटमा २५–१८ ले जित निकालेको हेटौंडा दोस्रो र तेस्रो सेटमा २३–२५ र १५–२५ ले पराजित हुनुपरेको थियो । तर चौैथो तथा अन्तिम सेटमा जितको होडमा घ्याङ्लेखलाई २५–१७ ले पराजित गर्दै फाइनलको यात्रा पूरा गरेका हो ।