हेटौंडाः प्रथम संस्करणको बागमती प्रदेशस्तरीय अन्तरपालिका भलिबल प्रतियोगिताअन्तर्गत् हेटौंडा उपमहानगरपालिका फाइनल प्रवेश गरेको छ । ललितपुरको महाकाल गाउँपालिकामा भएको प्रतियोगितामामा हेटौंडा उपमहानगरपालिकाले सिन्धुली जिल्लाको घ्याङ्लेख गाउँपालिकालाई ३–१ को सेटले हराउँदै फाइनलमा प्रवेश गरेको हो ।
पहिलो सेटमा २५–१८ ले जित निकालेको हेटौंडा दोस्रो र तेस्रो सेटमा २३–२५ र १५–२५ ले पराजित हुनुपरेको थियो । तर चौैथो तथा अन्तिम सेटमा जितको होडमा घ्याङ्लेखलाई २५–१७ ले पराजित गर्दै फाइनलको यात्रा पूरा गरेको मकवानपुर जिल्ला भलिबल संघका सदस्य नरेन्द्र मोक्तानले जानकारी दिनुभएको छ ।
प्रतियोगिताको सेमिफाइनल पुगेको मकवानपुरकै थाहा नगरपालिकाको खेल भने स्थगित भएको छ । थाहा नगरपालिका र ललितपुरको महांकाल गाउँपालिकाबीचको सेमिफाइनल खेल वर्षाको कारणले स्थगित भएको मोक्तानले बताउनुभयो ।
स्थगित खेलहरु आज बुधबार हुनेछ । प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डको छोरा प्रकाश दहालको स्मृतिमा सञ्चालन भएको प्रतियोगितामा १६ वटा टिमहरुको सहभागिता रहेको छ ।
प्रतियोगिता बागमती प्रदेश खेलकुद विकास परिषद्, जिल्ला खेलकुद विकास समिति ललितपुर, राष्ट्रिय खेलकुद परिषद र नेपाल भलिबल संघको आयोजनामा प्रतियोगिता सञ्चालन भएको हो । प्रतियोगिता आयोजनाका लागि १ करोड ३० लाख रुपैयाँ खर्च हुने आयोजकको अनुमान छ ।
प्रतियोगिताको उपाधि विजेता टिमले ३ लाख रुपैयाँ र उपविजेता टिमले दुई लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । सेमिफाइनलमा पराजित हुने दुई टिमले एक–एक लाख रुपैयाँ नगद राशि प्राप्त गर्नेछन् । यस्तै, प्रतियोगिताको उत्कृष्ट ब्लकर, उत्कृष्ट सेटर, उत्कृष्ट डिफेन्डर र उत्कृष्ट सर्भरलाई ५० हजार रुपैयाँको नगद राशि र प्रमाणपत्र प्रदान गरिने छ । प्रतियोगिता लिग कप नकआउटको आधारमा भएको हो ।