हेटौंडाः टोल विकास नगर समन्वय समिति हेटौंडा उपमहानगरपालिकाको आयोजनामा सचेतना कार्यक्रम भएको छ । सोमबार सकारात्मक सोच, आहारबिहार सचेतना र भान्सा नै औषधालय विषयमा सचेतनामूलक कार्यक्रम आयोजना भएको हो ।
टोल विकास संस्थाका अध्यक्ष धुर्व ढकालको सभाध्यक्षता तथा हेटौंडा उपमहानगरपालिका वडा–४ का अध्यक्ष नवीन सिग्देलको प्रमुख आतिथ्यमा कार्यक्रमको उद्घाटन भएको हो । कार्यक्रममा सहभागीहरुलाई कृषि वातावरण औषधालय विज्ञ रोमलाल गिरीले प्रशिक्षण दिनुभएको छ । प्रशिक्षक गिरीले मासु खाने मानिसहरुमा ८० प्रतिशत रोग सर्ने गरेको बताउनुभएको छ ।
खसी, राँगाजस्ता जनावरहरुलाई मारेर खाएको कारणले रोग बढी मात्रामा सर्ने गरेको उहाँले बताउनुभयो । उहाँले सबै मानिसहरुले आफूले कस्तो खानेकुरा खाइरहेको छु ? खाना खानयोग्य छ कि छैन भन्ने कुरा बुझ्न जरुरी रहेको बताउनुभयो ।
स्वच्छ भान्छाको महत्व बुझेर भान्छालाई स्वच्छ बनाउन सबै लाग्नुपर्ने उहाँको भनाइ छ । आलीदेखि थालीसम्म र गोठदेखि ओठसम्म आउने हाम्रा खानेकुरा स्वच्छ, विषादीरहित, जैविक तरिकाबाट उत्पादित भए÷नभएको कुरालाई मध्यनजर गर्नुपर्ने उहाँले बताउनुभयो । खाना पकाउने भाँडा, पकाउने ठाउँ, पकाउने मानिस सफा, स्वच्छ तरिकाले तयार गर्नुपर्ने उहाँले बताउनुभयो । खानाले औषधीको र औषधीले खानाको काम गर्नुपर्ने उहाँले बताउनुभयो ।
मानिसहरु स्वस्थ हुनका लागि नियमले खाना खानुपर्ने, निद्रा पूरा गर्नुपर्ने र नियमित काम गर्नुपर्ने गिरीले बताउनुभयो । औषधालय तरिकाको खाना खानका लागि स्वस्थ र स्वस्थकर खाना बनाउनुपर्ने उहाँको भनाइ छ । शरीरमा लाग्ने ७० प्रतिशत रोग आन्तरिक हुने भएकाले ३० प्रतिशल रोग प्योथोजनबाट लाग्ने उहाँले बताउनुभयो । मानिसहरुले पेटलाई केन्द्र बनाएर रोग सर्ने भएकाले सबैभन्दा पहिला पेटलाई सफा राख्न आवश्यक रहेको उहाँको भनाइ छ ।
शरीरलाई रोगबाट संक्रमण हुन नदिन ६ घण्टा गहिरो निद्रामा सुत्नुपर्ने, बिहान २ गिलास तातोपानी पिउनुपर्ने, करेसाबारीमा काम वा कसरत गर्नुपर्ने, जडीबुटीको सेवन गर्नुपर्ने, खाना छनोट गरेर खानुपर्ने र बाहिरी पसलहरुमा पाइने जंकफुड, मातृखाना र भुटेको तारेका बासी खाना खान बन्द गर्नुपर्ने उहाँले बताउनुभयो ।
स्वदेशका मानिसहरु धनी हुनका लागि देशको स्रोत र साधन धनी हुनुपर्ने र स्रोतको राम्ररी सदुपयोगबाट मानिसहरु समृद्ध हुनसक्ने उहाँको भनाइ छ । नयाँ आधार बनाउनका लागि गाई, भैंसी, भेडा, बाख्रा, पाडा, पाडीका फर्म खोल्ने, डाँफे, कस्तुरी, कालिज र मृगका फर्म स्थापना गर्नुपर्ने र हिमालको पानी, र स्वर्गको जीवाणुको विश्वबजारीकरण गर्ने बताउनुभयो ।
जडिबुटी, यार्सागुम्बा, सेतोमसुली, कोका र अमृतका बगैंचा स्थापना गरेर औषधी उत्पादन र औषधीको विश्व बजारिकरण गर्न आवश्यक रहेको उहाँले औंल्याउनुभयो । पानी, हावा र सौर्य शक्तिबाट ऊर्जामा आत्मनिर्भर हुनुपर्ने भन्दै उहाँले बिजुली उत्पादन शिक्षाबाटै आत्मनिर्भर हुनका लागि योजना बनाउनुपर्ने उहाँले दावी गर्नुभएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै अध्यक्ष ढकालले विभिन्न प्रकारका घटनाहरुलाई न्यूनीकरण गर्नका लागि सबैले आफ्नो सोचलाई सकारात्मक बनाउन आवश्यक रहेको बताउनुभएको छ । अहिलोको समयमा मानिसहरुले चिल्लोपदार्थ बढी मात्रामा खाएकाले बिरामी भएको उहाँले बताउनुभयो । सबै मानिसहरुले करेसाबारीमा उत्पादन गरेको सब्जीहरुलाई कसरी प्रयोग गरेका छौं भन्ने कुरालाई ध्यान दिनुपर्ने उहाँले बताउनुभयो । सबै मानिसहरु स्वास्थ्यप्रति संवेदनशील भएर स्वस्थ खानपानमा ध्यान दिनुपर्ने उहाँको भनाइ छ । कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाको विभिन्न वडाहरुबाट करिब २ सय जनाभन्दा बढी मानिसहरुको सहभागिता रहेको थियो ।