हेटौंडाः हेटौंडामा साइवर सुरक्षासम्बन्धी सचेतनामूलक कार्यक्रम भएको छ । राष्ट्रिय सूचना दिवसको अवसरमा कम्प्युटर एसोसिएसन महासंघ नेपाल (क्यान) मकवानपुरको आयोजनामा हेटौंडा–५, पिप्लेस्थित बालज्योति माध्यमिक विद्यालयमा साइबल सुरक्षासम्बन्धी सचेतनामूलक कार्यक्रम भएको हो ।
क्यान मकवानपुरका अध्यक्ष शिवकुमार श्रेष्ठको सभाध्यक्षता तथा हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मीनाकुमारी लामाको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । कार्यक्रममा सामाजिक सञ्जालको माध्यमबाट बढ्दै गएको अपराधको बारेमा जानकारी गराइको छ ।
पछिल्लो समयमा साइवर अपराधको घट्ना बढ्दै गएकाले विद्यालयका विद्यार्थीहरुलाई साइवर अपराधबाट बच्ने उपायबारे जानकारी गराउन कार्यक्रम गरेको क्यान मकवानपुरका सचिव गोविन्द चौलागाईले बताउनुभएको छ । विद्यार्थीहरुले प्रविधिको प्रयोग अत्यधिकरुपमा गर्ने भएकाले सामाजिक सञ्जालको प्रयोग गर्दा ध्यान दिनुपर्ने कुराहरुको बारेमा र अनावश्यक लिंकहरुबाट बच्ने उपायहरुबारे जानकारी गराउनका लागि कार्यक्रम गरेको उहाँको भनाइ छ । पैसा तथा अन्य महङ्गो उपहारको लोभलालचमा परेर कुनै प्रकारको अनावश्यक लिंकमा थिच्न नहुने उहाँले बताउनुभयो ।
विद्यार्थीहरुले सामाजिक सञ्जालको प्रयोग गर्दा अनावश्यक लिंकमा क्लिक गरेर साइवर अपराधमा पर्ने र पैसा लुटिने भएकाले सचेत गराउनका लागि यस्तो प्रकारको कार्यक्रमहरु गर्न आवश्यक रहेको उहाँले बताउनुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै नगर प्रमुख लामाले सबै मानिसहरु नेपालमै बसेर प्रविधिसँग लडेर नेपाललाई अगाडि बढाउने काममा लाग्नुपर्ने बताउनुभएको छ । सबैले आफूमा भएको क्षमतालाई निहाल्न सक्नुपर्ने उहाँले बताउनुभयो । विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुलाई पढाइलाई राम्ररी प्राथमिकता दिएर दक्ष जनशक्ति उत्पादन गर्ने कार्यमा लाग्नुपर्ने बताउनुभयो । प्रविधिमा धेरै कुराहरु हुने भएकाले प्रविधिको बारेमा सबैलाई जानकारी हुनुपर्ने नगर प्रमुख लामाले बताउनुभयो । सूचना प्रविधिका विभिन्न कार्यक्रमहरु क्यानसँग सहकार्य गरेर हुने उहाँको भनाइ छ ।
कार्यक्रममा क्यानले देशैभरि सूचना प्रविधि दिवसको अवसरमा साइवर अपराधसम्बन्धी सचेतनामूलक कार्यक्रमहरु आयोजना गरेको बताइएको छ । क्यान मकवानपुरका सचिव चौलागाईंंले क्यानको उद्देश्यका बारेमा जानकारी गराउनुभयो । कार्यक्रममा बालज्योति माविका विद्यार्थी र अन्य गरी ९५ जनाको सहभागिता रहेको थियो । कार्यक्रममा साइबर अपराधसम्बन्धी प्रशिक्षण क्यान महासंघ मकवानपुरका कोषाध्यक्ष श्रीराज खतिवडा दिनुभएको थियो । साइवर अपराधको घटनालाई न्यूनीकरण गर्नका लागि यस्ता प्रकारको कार्यक्रमको आयोजना विभिन्न क्याम्पस, टोलहरुमा गर्न आवश्यक रहेको उहाँले दावी गर्नुभयो ।
कार्यक्रममा क्यान महासंघ नेपालका सचिव भुपालदास श्रेष्ठ, ५ नम्बर वडा सदस्य रञ्जिता सिलवाल, क्यान बागमती प्रदेश अध्यक्ष पुष्पराज पुडासैनी, बालज्योती मावि पिप्लेका अध्यक्ष रवीन्द्रनाथ पोखरेल, विद्यालयका प्रधानाध्यापक भरत अर्याललगातयको आतिथ्य रहेको थियो ।