Home मुख्य समाचार पत्रकार पेन्सनलाई योगदानमा आधारित बनाइने, एकल महिला पनि लाभान्वित हुने

पत्रकार पेन्सनलाई योगदानमा आधारित बनाइने, एकल महिला पनि लाभान्वित हुने

साधारणसभाका‌ निर्णय सुनाउनु हुँदै बन्दसत्रको अध्यक्षता गर्नुभएका प्रताप विष्ट।

हेटौँडाः नेपाल पत्रकार महासंघ मकवानपुर शाखाले स्थापना गरेको पत्रकार पेन्सन कार्यक्रमलाई योगदानमा आधारित बनाइने भएको छ । महासंघ मकवानपुरले २० बर्ष निरन्तर पत्रकारिता गरेका ६० बर्ष उमेर पूरा भएका पत्रकारलाई मासिक ४ हजार रुपैयाँ पेन्सन वितरण गर्न सुरु गरेको छ । पत्रकार पेन्सन कार्यक्रमका लागि महासंघ मकवानपुरले २७ लाख ५० हजार रुपैयाँ अक्षयकोष स्थापना गरेको छ ।
अक्षयकोषको रकममा वृद्धि गर्ने गरी बुधबार सम्पन्न १८ औं साधारणसभाले पत्रकार पेन्सन कार्यविधिमा संशोधन गर्दै बार्षिक एक हजार रुपैयाँ योगदानमा आधारित बनाउने निर्णय गरेको हो । पेन्सन कार्यक्रमलाई योगदानमा आधारित बनाउने विषयमा महासंघकी सदस्य सम्झना कार्कीको प्रस्तावलाई साधारणसभाले सर्वसम्मत पारित गरेको हो । यस्तै यसअघि २० बर्ष निरन्तर पत्रकारिता गरेर ६० बर्ष पूरा भई पत्रकारितामा निष्क्रिय भएकालाई भन्ने व्यवस्थामा पनि सुधार गरी क्रियाशील नै रहँदा पनि पेन्सन कार्यक्रमबाट लाभान्वित हुन सक्ने बनाइएको छ ।

पत्रकार पेन्सन कार्यक्रमका संयोजक तथा निवर्तमान अध्यक्ष हरि हुमागाईले पेन्सन कोषमा पुँजी भएका कारण सक्रिय पत्रकारलाई पनि पेन्सन कार्यक्रमबाट लाभान्वित गराउने प्रस्ताव गर्नुभएको थियो । यस्तै एकल÷बिधवा महिलालाई पनि पेन्सन कार्यक्रममा समावेश गर्ने निर्णय गरिएको छ । महासंघका सदस्य सुरेश श्रेष्ठको प्रस्तावमा साधारणसभाले सर्वसम्मत एकल÷बिधवा महिलालाई पेन्सन कार्यक्रमबाट लाभको अवसर प्रदान गर्ने निर्णय गरिएको हो । अहिले मकवानपुरका एकजना पत्रकार मात्रै पेन्सन कार्यक्रमबाट लाभान्वित हुँदै आएको छ ।

Exit mobile version