Home मुख्य समाचार शिक्षकका छोराछोरी आफ्नै विद्यालयमा

शिक्षकका छोराछोरी आफ्नै विद्यालयमा

आफ्ना बाबुनानीसहित श्रमिक माविका शिक्षकहरु ।

हेटौंडाः हेटौडा–४ स्थित श्रमिक माध्यमिक विद्यालयमा अध्यापन गराउने शिक्षकहरुले आफ्ना छोराछोरीलाई सोही विद्यालयमा भर्ना गराएका छन् । सोमबार विद्यालयका ६ जना शिक्षकले आफ्ना बालबालिकालाई आफ्नै विद्यालयमा भर्ना गराएको विद्यालयका प्रधानाध्यापक श्रीराम दहालले जानकारी दिनुभयो ।

शिक्षक सुशील पोखरेलको छोरा सन्देश कक्षा २ मा, रमिका शाक्यका छोरा न्ह्युराज शाक्य पिजी कक्षामा र दिलाशा शर्माका छोरा अथर्वराज जोशीलाई नर्सरी कक्षामा भर्ना गरिएको छ । शिक्षक सम्झना न्यौपानेको छोरा फ्रान्सिस नर्सरीमा र छोरी स्यारोन कक्षा २ मा भर्ना गरिएको छ । यस्तै, शिक्षक सायरा खातुनको छोरा मोहम्मद ह्यारिस अन्सारी र शिक्षक भीमकुमारी आचार्यका छोरा अभ्यास लम्साललाई केजी कक्षामा भर्ना गरिएको प्रधानाध्यापक दहालले जानकारी दिनुभयो ।

सोमबार विद्यालयमा आयोजित कार्यक्रममा हेटौंडा–४ का वडा अध्यक्ष नवीन सिग्देलले आफैंले अध्यापन गराउने विद्यालयमा आफ्ना छोराछोरी भर्ना गरेकोमा शिक्षकहरुलाई धन्यवाद दिँदै बालबालिकालाई स्वागत गर्नुभयो । सोही अवसरमा वडा अध्यक्ष सिग्देलले विद्यालयमा निजी स्रोत शिक्षकको रुपमा नियुक्त हुनुभएका भीमकुमारी आचार्य, गंगा थापा, आरती बस्नेत, सेवक शिवाकोटी, अमृत शिवाकोटी र आया पविता राना मगरलाई स्वागतसमेत गर्नुभएको छ ।

विद्यालयले यस बर्ष ३ सय जना नयाँ विद्यार्थी भर्ना गर्ने लक्ष्य लिएकोमा हालसम्म एक सय जना विद्यार्थी भर्ना भएका छन् । नयाँ विद्यार्थीलाई ग्रेडसिटका आधारमा भर्ना लिने गरेको दहालले जानकारी दिनुभयो । गत बर्षबाट विद्यालयले पूर्वप्राथमिक तहका विद्यार्थीहरुको अभिभावकले घरमै बसेर सीसी क्यामेराको माध्यमबाट आफ्ना बाबुनानीको अवस्था हेर्ने व्यवस्था गरेको थियो । यस बर्ष विद्यालयले नयाँ योजना बनाएर पूर्वप्राथमिक तहका विद्यार्थीहरुका लागि शनिबारबाहेक अन्य सार्वजनिक बिदाका दिन पनि विद्यालयमा राखेर अध्यापन गराउने योजना रहेको प्रधानाध्यापक दहालले बताउनुभयो ।

विद्यालयले यस बर्षको कार्ययोजनासहित विद्यार्थी तथा अभिभावकलाई शैक्षिक क्यालेण्डर प्रदान गरेको छ । गतवर्ष विद्यालयमा ५ सय १७ जना विद्यार्थी भर्ना भएका थिए । बैशाख २ गतेदेखि विद्यालयका पुराना विद्यार्थीलाई पाठ्यपुस्तक वितरण गरिएको र ६ गतेबाट नियमित कक्षा सञ्चालन गरेको दहालले जानकारी दिनुभयो ।

Exit mobile version