बिरामी वा घाइते मानिसलाई उपचारका लागि अस्पतालसम्म पुर्याउन एम्बुलेन्सको प्रयोग हुने गरेको छ । स्वास्थ्य अवस्था नाजुक भएका वा गम्भीर चोटपटक लागेका बिरामीको अवस्थालाई स्थिर राख्दै तत्काल उपयुक्त स्वास्थ्य संस्थासम्म पुर्याउने सवारी साधन हो, एम्बुलेन्स । यसैले, आपतकालीन स्वास्थ्य प्रणालीको एउटा प्रमुख अंगका रुपमा एम्बुलेन्सलाई लिने गरिन्छ । एम्बुलेन्स एउटा सवारी साधनमात्र होइन, एम्बुलेन्स हुन धेरै मापदण्ड पूरा हुनुपर्छ । मानिसको जीवनरक्षाको एउटा माध्यम बनिरहेको एम्बुलेन्सका लागि विभिन्न सुविधा दिइएको छ । एम्बुलेन्स खरिद गर्दा राज्यबाट लिने सबैजसो कर छुट गरिन्छ । बिरामी बोकेको एम्बुलेन्सले अप्ठ्यारा परिस्थितिमा पनि निर्वाध आवागमनको सुविधा पाउने गरेको छ । तर, एम्बुलेन्सलाई एम्बुलेन्सकै रुपमा सञ्चालन गर्न सरकारले धेरै नीति, नियम र निर्देशिकामार्फत् नियमनको प्रयास गरेको छ ।
सरकारले एम्बुलेन्स सेवालाई प्रभावकारी बनाउन २०६० सालमा एम्बुलेन्स सञ्चालन नीति ल्याएको थियो । त्यसलेमात्र नभएर २०७८ सालमा राष्ट्रिय एम्बुलेन्स सञ्चालन निर्देशिका लागू गरको छ । उक्त निर्देशिकाबमोजिम केन्द्रीय, प्रादेशिक र जिल्लास्तरमा एम्बुलेन्स व्यवस्थापन समितिको व्यवस्था गरेको छ । यस्तो समितिले एम्बुलेन्स सेवा सञ्चालन अनुमति दिने, एम्बुलेन्स सञ्चालन नवीकरण गर्ने, एम्बुलेन्सको नियमन गर्ने गर्दछ । सोही व्यवस्थाबमोजिम जिल्ला एम्बुलेन्स व्यवस्थापन समिति मकवानपुरले पनि एम्बुलेन्स सञ्चालन अनुमति नवीकरणका लागि आग्रह गरेको भए पनि जिल्लामा सञ्चालित एम्बुलेन्सले त्यसलाई अटेर गरेका छन् । एम्बुलेन्स व्यवस्थापन समितिले करिब ४ महिनाअघि ६० दिनको म्याद दिएर एम्बुलेन्स सञ्चालन अनुमति नवीकरणका लागि सूचना दिँदा एउटामात्र एम्बुलेन्सले नवीकरणका लागि निवेदन दिएको छ । जिल्ला एम्बुलेन्स व्यवस्थापन समितिको गत मंसिर २० गतेको बैठकको निर्णयअनुसार पुस १७ गते सूचना जारी गर्दै जिल्लाभित्र सञ्चालित एम्बुलेन्सलाई ६० दिनभित्र अनिवार्य नवीकरण गर्न भन्दा पनि एम्बुलेन्स सञ्चालकले त्यसलाई अटेर गरेका हुन् ।
निर्देशिकाबमोजिम एम्बुलेन्स सञ्चालकहरुले मापदण्ड पूरा गरी एम्बुलेन्स सञ्चालन अनुमति तथा नवीकरण प्रमाणपत्र लिएर एम्बुलेन्स सञ्जाल (१०२) मा आबद्ध हुनुपर्नेछ । मकवानपुर जिल्लाभित्र ५० वटाभन्दा बढी एम्बुलेन्स सञ्चालनलमा रहेका भए पनि अधिकांश एम्बुलेन्स मापदण्डबमोजिम सञ्चालन भएका छैनन् । एम्बुलेन्सलाई विभिन्न मापदण्ड र सेवा सुविधाका आधारमा क, ख, ग र घ वर्गमा विभाजन गर्ने गरिएकोमा निर्देशिकाले क र ख वर्गको व्यवस्था गरेको छ । मकवानपुर जिल्लामा रहेका अधिकांश एम्बुलेन्स ग वर्गका छन् । २०७८ को निर्देशिकाले ग वर्गको एम्बुलेन्स नवीकरण गर्ने समयमा अनिवार्य ख वर्गको मापदण्ड पूरा गर्नुपर्ने व्यवस्था भएका कारण मकवानपुरका एम्बु लेन्स सञ्चालकले नवीकरण गर्न अटेर गर्नुले यसको नियमन चुनौतीपूर्ण बनिरहेको छ ।
निर्देशिकाले देशभर सञ्चालित एम्बुलेन्सहरुलाई प्रेषण केन्द्रमार्फत् एकीकृतरूपमा सञ्चालन गर्नु पर्ने व्यवस्था गरेको भए पनि त्यसको प्रभावकारी कार्यान्वयन हुन सकेको छैन । एम्बुलेन्समा आकस्मिक स्वास्थ्य सेवासम्बन्धी तालिमप्राप्त चालक र स्वास्थ्यकर्मीका साथै आवश्यक उपकरण र औषधी हुनुपर्ने भए पनि यस्तो सुविधा ज्यादै थोरै एम्बुलेन्समा मात्र पाइन्छ । प्रत्यक्षरुपमा जनस्वास्थ्यसँग जोडिएको एम्बुलेन्सको प्रभावकारी नियमनमा धेरै चुनौती देखिन्छ । एम्बुलेन्स सेवा सर्वसुलभ छैन । चाहिएको समयमा एम्बुलेन्स नपाउँदा र एम्बुलेन्समा आवश्यक सुविधा नहुँदा अधिकांश व्यक्ति निजी सवारी वा भाडाका अन्य सवारी साधनबाट अस्पताल जाने गरेका छन् । एउटा साइरन र बिरामी सुत्ने बेड भएको सवारी साधनको रुपमा परिचित अधिकांश एम्बुलेन्स चालकको तजबिजमा सञ्चालन भइरहेका छन् । एम्बुलेन्सलाई तोकिएको मापदण्डबमोजिम सञ्चालन गराउन निर्देशिकालाई पूर्ण कार्यान्वयनमा ल्याउनैपर्छ ।
