Home मुख्य समाचार पञ्चकन्या आविको अध्यक्षमा पुनः बल

पञ्चकन्या आविको अध्यक्षमा पुनः बल

बागमतीः मकवानपुरको बागमती गाउँपालिका वडा नम्बर–४, पाँचपाण्डवस्थित पञ्चकन्या आधारभूत विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा आशीष बल सर्वसम्मत चयन हुनुभएको छ । बुधबार सम्पन्न अभिभावक भेलाबाट चयन भएका ४ सदस्यीय समितिबाट बल दोस्रो कार्यकालका लागि अध्यक्षमा सर्वसम्मत चयन हुनुभएको हो ।

बुधबार भएको अभिभावक भेलामा प्रत्यक्षतर्फ आशीष लामा बल, लालबीर थिङ, एलिना माझी र जितुमाया थिङ सर्वसम्मत चयन हुनुभएको थियो । चयन हुनु भएका चार सदस्य, वडा अध्यक्ष तथा वडा शिक्षा संयोजक दन्तलाल माझी ,समिति सचिवव सुबर्ण वाईबा र शिक्षक प्रतिनिधि सुशीला माझीको बैठकले नौमान स्याङ्तान र सुनिता मोक्तान जिम्बालाई सदस्यमा मनोनित गर्नुभएको छ ।

बागमती गाउँपालिकाका शिक्षा शाखा संयोजक कमान सिं पाख्रिनले नवनिर्वाचित समितिका पदाधिकारीहरुलाई खादा लगाएर बधाई दिनुभएको छ । नयाँ कार्यसमितिको कार्यकाल ४ वर्षको रहनेछ । आफू पहिलो कार्यकालमा व्यवस्थापन समितिको अध्यक्षमा निर्वाचित भएपछि विद्यालयमा पुस्तकालय, कम्प्युटर कक्षा र स्मार्ट कक्षाकोठा सञ्चालन गर्न सफल भएको अध्यक्ष बलले बताउनुभयो । विद्यालयमा शिक्षासँगै अन्य पक्षहरू सुधारका लागि अभिभावकहरुले आफुलाई विश्वास र आशाका साथ दोस्रो कार्यकालका लागि सर्वसम्मत चयन गरेको बताउनुहुँदै उहाँले यो कार्यकालमा अझ थप काम गरिने प्रतिबद्धता जनाउनुभयो । कक्षा ८ सम्म पाठनपाठन हुने विद्यालयमा २ सय ३३ भन्दा बढी विद्यार्थी अध्ययनरत छन् ।

कार्यक्रममा बागमती–४ का निवर्तमान अध्यक्ष रहरसिङ थिङ, वडा सदस्यहरु उर्मिला बिक, हेमबहादुर थिङ, विद्यालयको पूर्व व्यवस्थापन समितिक अध्यक्षहरु भक्तबहादुर माझी, यानबहादुर पाख्रिन, भूमिलाल माझी, जयबहादुर वाईबा, सुक्रम भोलन र सुदिप पाख्रिनलगायतको उपस्थिति रहेको थियो ।

Exit mobile version