सार्वजनिक सुनुवाई कार्यक्रममा आफ्ना कुरा राख्नुहुँदै वडा अध्यक्ष ढलकबहादुर थापा ।

हेटौंडाः तिलगंगा आँखा प्रतिष्ठानले नेपाल आँखा कार्यक्रमअन्तर्गत् हेटौंडा–३, बसामाडीमा आँखाको लेन्स उत्पादन प्रयोगशाला (उद्योग) स्थापना गर्ने भएको छ । उक्त प्रयोगशाला स्थापनाको सन्दर्भमा तयार पारिएको प्रारम्भिक वातावरणीय परीक्षणबारे राय सुझाव संकलनका लागि बुधबार सार्वजनिक सुनुवाई कार्यक्रम भएको हो ।

नेपाल आँखा कार्यक्रमका सञ्चालक सदस्य सिद्धिलाल श्रेष्ठको सभाध्यक्षता तथा हेटौंडा उपमहानगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष ढलकबहादुर थापाको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै संस्थाका अध्यक्ष श्रेष्ठले ५० वटाभन्दा बढी देशका मानिसहरुले प्रयोग गर्न मिल्नेगरी आँखाको लेन्सको उद्योग निर्माण गर्न लागेको बताउनुभयो । आँखाको लेन्स उद्योग ३ वर्षभित्र सञ्चालनमा ल्याउन लागेको उहाँले बताउनुभयो ।

हेटौंडा उपमहानगरपालिकाकी वातावरण इन्जिनियर चन्दा खड्काले नेपाल सरकारले वातावरणसम्बन्धी विकास निर्माणका कामलाई अगाडि बढाउन वातावरण ऐनको व्यवस्था गरेको बताउनुभएको छ । कुनै पनि योजना सञ्चालन गर्नका लागि वातावरणमैत्री ऐनको व्यवस्था हुनुपर्ने वातावरण इन्जिनियर खड्काले बताउनुभयो ।

वातावरण संरक्षण ऐन २०७६ अन्तर्गत् कार्यान्वयनमा आएको वातावरण संरक्षण नियमावली २०७७ मा व्यवस्था भएअनुसार स्थापना हुन लागेको उद्योगको प्रारम्भिक वातावरणीय परीक्षण गर्न आवश्यक देखिएको कार्यक्रममा जानकारी दिइएको छ । उद्योगका लागि निर्माण गरिने भवन तथा अन्य संरचनाको बारेमा प्रारम्भिक वातावरणीय परीक्षण गर्न आवश्यक देखिएको बताइएको हो ।

प्रस्ताव क्षेत्रको विद्यमान सामाजिक÷आर्थिक तथा सांस्कृतिक, भौतिक तथा रासायनिक र जैविक वातावरणीय तथ्याङ्कहरु सङ्कलन गर्ने, प्रस्ताव क्षेत्रमा सार्वजनिक सुनुवाई गरी स्थानीय जनता तथा सरोकारवाला निकायबाट प्राप्त रायसुझाव संकलन गरी प्रतिवेदनमा समावेश गर्न आयोजना कार्यान्वयन हुँदा पर्ने सम्भावित भौतिक वातावरण, जैविक वातावरण, आर्थिक, सामाजिक र सांस्कृतिक वातावरण, रासायनिक वातावरणमा पर्न सक्ने प्रभावहरु अनुमान गर्ने, आंकलन गर्ने तथा मूल्याङ्कन गर्ने उद्देश्यले कार्यक्रम गरिएको हो । अनुकूल प्रभावहरु अभिवृद्धि तथा प्रतिकूल प्रभावहरु न्यूनीकरण गर्न व्यवहारिक र स्थान विशिष्ट उपायहरु प्रस्तुत गरी कार्यान्वयन गर्ने र वातावरणीय व्यवस्थापन योजना तथा वातावरणीय अनुगमन योजना तयार गरी कार्यान्वयन गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरेको बताइएको छ ।

यस्तै, प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन तयार गर्दा अपनाउनु पर्ने विधिहरु बारे जानकारी दिने र प्रस्ताव कार्यान्वयन गर्दा वातावरणमा पर्ने सकारात्मक र नकारात्मक प्रभावहरुको पहिचान गराउने अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । प्रस्तावित आयोजनासँग आकर्षित हुने नीति, ऐन, नियम तथा निर्देशिनहरुको पहिचान गराउने र प्रतिवेदन तयार गर्दा लाग्ने समय र अनुमानित बजेटबारे जानकारी गराउने उद्देश्यले कार्यक्रमको आयोजना गरेको जनाइएको छ ।