विदाई कार्यक्रममा शिक्षक गणेश पराजुलीलाई सम्मान गर्नुहुँदै विद्यालयकी प्रधानाध्यापक मालती उप्रेती ।

हेटौंडाः हेटौंडा–१, चाइनाक्वाटरस्थित अमर माविबाट सेवानिवृत्त हुनुभएका शिक्षक गणेश पराजुलीको बिदाई गरिएको छ । मंगलबारदेखि सेवानिवृत्त हुनुभएका शिक्षकलाई विद्यालय परिवारले सोमबार एक कार्यक्रमको आयोजना गरी विदाई गरेको हो । २०४५ सालदेखि अस्थायी दरबन्दीमा शिक्षण सेवामा प्रवेश गर्नुभएका पराजुली २०४८ सालमा स्थायी नियुक्त हुनुभएको हो ।

उमेर हदका कारण मंगलबार पराजुलीले अन्तिम दिनको सेवा गर्नुभएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष उमाकान्त गौतमको अध्यक्षता तथा १ नम्बर वडा अध्यक्ष सविन न्यौपानेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा शिक्षक अभिभावक संघका अध्यक्ष हरिप्रसाद विडारी, वडा सदस्य वेगम बराल, विद्यालयका प्रधानाध्यापक मालती उप्रेती, पूर्व प्रधानाध्यापक रामकुमार बर्तौला लगायतको उपस्थिति रहेको थियो ।

सेवानिवृत्त हुनुभएका पराजुलीलाई विद्यालयले सम्मानपत्र र गणेश मूर्ति प्रदान गरेको छ । आफूले विद्यालयका लागि सक्दो काम गरेको र विद्यालयले पनि सम्मानजक विदाई गरेकोप्रति शिक्षक पराजुलीले खुसी व्यक्त गर्नुभयो । सेवानिवृत्त जीवनमा पनि सक्रिय रहने उहाँले बताउनुभएको छ ।