१. मानव सभ्यताका प्रारम्भिक कालखण्डमा श्रुती शिक्षा अर्थात अघिल्लो पिंढिले पछिल्लो पिंढिलाई सुनाउने अनि सुनेका कुरालाई थपथाप पारेर अर्को जेनरेशनलाई शिक्षा दिदैं विकास हुँदै आएको इतिहास हामीले पढेका छौ । अक्षर लेख्ने र लेखिएका कुराहरु पढ्ने अध्ययन गर्ने अवस्था सम्म पुग्न वर्षौं लागेका भनाईहरु पनि ऐतिहासिक घटनाक्रममा भेट्न सकिन्छ । हाम्रा पुर्खाहरु स्व अध्ययन गर्दथे । पहिलो ग्रन्थका रुपमा वेद लेखियो । वेदमा पनि ऋग्वेद अनि क्रमशः सामवेद, यजुर्वेद र अथर्ववेद लेखिएका हुन् भनिन्छ । घर आदिका भित्तामा कोरिएका धर्सा र चित्रहरु, ढुङ्गाा लेखिएका शिलालेख, तामामा लेखिएका ताम्रपत्र आदि प्राचिनकालको अध्ययन सामग्रीका रुपमा प्रयोग भएको पाईन्छ । लप्सी आदिबाट कागज, बाँस निगालोका कलम र विभिन्न काठ तथा झारहरु पकाएर सो को पानी निचोरेर मसी बनाई लेखपढ गरिएको कुराहरु हामीले पढेका छौं । शिक्षा आर्जनका लागि ऋषीमुनीका आश्रममा जाने र गुरुकुल शिक्षा प्रणालीमा खास उमेरमा निश्चित अवधि सम्म कडा अनुशासनका घेरामा विद्या आर्जनको परम्परा पनि शिक्षाको प्राचिनतम उदाहरण भनिन्छ । उक्त शिक्षा श्रवण, घोकाई र प्रयोगात्मक विधिमा आधारित भएको भन्न सकिन्छ । शिक्षा प्रदान गर्ने निश्चित केन्द्रहरु मात्र भएकाले शिक्षा आर्जनका लागि घर छाडेर बाहिर नै जानुपर्ने बाध्यकारी अवस्था रहेको थियो । भारतवर्षका तत्कालिन तक्षशिला, नालन्दा विश्वविद्यालय र वाराणसी विद्या आर्जनका प्रमुख केन्दहरु थिए । विद्या हराए कास्की जानु भन्ने उखान त हामीले धेरै पटक सुनेका छौं । तत्कालिन मिथिलाका राजा जनकको दरबारमा हुने शास्त्रार्थले शिक्षामा महत्वपूर्ण स्थान सहितको प्राथमिकता स्विकार्नै पर्दछ ।
२. शिक्षा आर्जनका लागि घर छाडेर अन्यत्र जानैपर्ने अवस्थाका लागि गाई भैंसी बेचेर, घिउ बेचेर, आदिबाट पैसा जम्मा गर्ने, ऋण लिएर पढ्न जाने, खासगरी शहरमा जाने, डेरा खोजेर बस्ने, अध्ययनलाई अत्यन्त महत्व दिने संस्कार हाम्रो प्राचिन शैक्षिक पहिचान हो । विद्यार्थीका पाँचवटा लक्षणहरु काग चेष्टा अर्थात कागको जस्तो चाहना, बको ध्यान अर्थात बकुल्लाको जस्तो ध्यान, श्वान निद्रा अर्थात कुकुरको जस्तो निद्रा, अल्पहारी अर्थात थोरै खाने र गृह त्यागी अर्थात घर छोड्नै पर्ने भनिएको छ । यस्ता भनाईका सत्यताका बारेमा विश्लेषण अर्को विषय हो । प्राचिन नेपालमा गोपालवंशी, लिच्छवि, मल्लहरुको शासन कालखण्डमा समेत कला र साहित्यको विकासका उदाहरण वर्तमानका मठ,मन्दिर,दरबार आदिलाइृ लिन सकिन्छ । शाहवंसीय शासनकाल खासगरी जंग बहादुरले औपचारिक रुपमा वि.सं. १९१० मा स्कूल स्थापना गरेपश्चात जुद्ध शमसेर, देव शमसेर र पद्य शमसेरहरु शिक्षालय स्थापनामा सकारात्मक बनेका थिए भन्दा अत्युिक्त नहोला । राणा शासनको अन्त्य पछिको संसदिय कालमा पनि विद्यार्थीले अध्ययनका लागि शिक्षालय धाएर जानुपर्ने स्थिति थियो । वि.सं.२०१७ मा सस्तो लोकप्रियताका लागि नक्शाङ्कन बिनै अन्धाधुन्ध स्कूल स्थापनाका लागि अनुमती दिईएको पाईन्छ । शिक्षा ऐन कानूनका सबालमा भएका कामहरु सकारात्मक रहे पनि तत्कालिन राजाका मतियार पंचहरुले मालिक खुशी बनाउन आवश्यकता भन्दा पनि चाकडीका लागि आ–आफ्ना पहुँचका स्थानमा शिक्षालय स्थापना गरेकाले विद्यार्थीहरुले नै स्कूल खोज्नु पर्ने बाध्यताले निरन्तरता पाईनै रह्यो ।
३. वि.सं.२०४६ मा निर्दलिय पंचायती शासनकालको अन्त्य पश्चात शिक्षा ब्यवस्थामा आएको परिवर्तनले बिस्तारै शिक्षालयको संख्यामा अनपेक्षित बृद्धि भएकै हो । यता, जनसंख्या बृद्धिदर भने घटदै जाने अर्कोतर्फ विद्यालयको संख्या थपिईरहने संगै वैदेशिक अध्ययन सहज बन्दै बाहिरको आकर्षणमा समेत यताका विद्यार्थीको गन्तब्य बन्नुले शिक्षालयहरु संकटमा पर्न थालेका हुन् । नीजि स्तरमा शिक्षालयहरुको स्थापनाले पनि ठूलै भूमिका सहितको प्रभाव प्रदर्शन गरेकै हुन् । बिगतका शैक्षिक परम्परामा क्रमभ¨ता हुन थाल्यो । बिस्तारै स्कूलहरु विद्यार्थी खोज्न बाहिर निस्किए । यो क्रम बढ्दै गयो । औंलामा गन्न सकिने सिमित सरकारी शिक्षालयहरु बाहेक सबै स्कूलहरुमा विद्यार्थी घटे । यो चुनौति सामान्य भएन । यस बिचमा नेपालको पहिलो र ऐतिहासिक दरबार हाईस्कूलको अवस्था समेत अत्यन्त नाजुक बनेकै हो । संस्थागत अर्थात नीजि शिक्षालयहरु बलिया र प्रभावकारी बन्दै जाँदा सामुदायिक अर्थात सरकारी शिक्षालयहरुमा विद्यार्थी संख्या न्यून हुनुलाई स्वभाविक भन्नै पर्दछ । विद्यालय जाने उमेरका कूल विद्यार्थी मध्ये करिब तिस प्रतिशत विद्यार्थी नीजि स्कूलहरुमा भएको र सत्तरी प्रतिशत भने सरकारी शिक्षालयमा अध्ययनरत भएको भनिएकोछ ।
४. निश्चय नै, विद्यार्थी नभएर नै स्कूल घरघरै पुगेको हो भन्नै पर्दछ । अपेक्षित विद्यार्थी संख्या नहुनुका कारणहरु बारे भएका बहस अधिक छन् । शिक्षालयका संख्या धेरै भए । जनसंख्या वृद्धिदर घटिरहेको छ । शहर केन्द्रित बसाईं सराईंको कारणले पनि गाउँमा विद्यार्थी भएनन् । शैक्षिक गुणस्तर अर्थात पढाईको स्तरले पनि प्रभाव पारेको भनिन्छ । अभिभावक तथा विद्यार्थी शहर केन्द्रित सुविधाहरुले स्वभाविक विद्यार्थी आकर्षित गरेको भनाई पनि नकार्न सकिन्न । रोजगारी खोज्दै अभिभावक शहर गएपछि उनीहरुका सन्तान संगै जाने नै भए । बैदेशिक रोजगारीमा गएकाले सम्भव भए सम्म परिवार संगै लाने भए, यदि परिवार लान नमिल्ने भए शहरमा परिवार राखेर महँगै नीजि स्कूलमा सन्तान पढाउने रहर पनि देखिएकै छ । अर्को तर्फ, सरकारी शिक्षालयहरु शिक्षकका कारणले, ब्यवस्थापनका ब्यवहारले, समुदायको नकारात्मक बुझाईले र स्थानिय तहको संकिर्ण तथा क्षुद्र राजनीतिक खेलहरु एवम् शिक्षा प्रशासनका भ्रष्ट चरित्रले अधिक आलोचित बनेका भनाईमा आंशिक सत्यता स्विकार्नै पर्दछ । सरकारी स्कूलका शिक्षकहरु प्रतिको आलोचनामा दलगत राजनीति मूल मुद्धा बनाईएको तथ्य जगजाहेर छ । राजनीतिक पार्टीहरुले शिक्षकहरुलाई अधिकतम उपयोग गरेका कारणले पनि शिक्षकहरु प्रतिको धारणा नकारात्मक बनेको हुन सक्छ । आफ्ना छोराछोरी नीजि स्कूलमा पढाउने अनि आफु भने सरकारी स्कूल नै रोज्ने भन्दै सरकारी शिक्षकहरुमा गम्भिर आरोप लाग्दै आएको छ ।
५. चालिसको दशकमा अंग्रेजी भाषा प्रतिको आकर्षणले आम अभिभावक र विद्यार्थी समेतलाई प्रभावित बनाएकै हो । तत्कालिन समयमा अंग्रेजी भाषा पढाउने भनेर दार्जिलि¨, सिक्किम, भुटान लगायतका स्थानबाट आएका शिक्षकहरु नीजि स्कूलका आकर्षणका केन्द्र बनेका थिए । अंग्रेजी भाषा दुनियाँभर बोलिने अनि विज्ञान प्रविधि लगायत मेडिकल साईन्सका अधिकांश किताबहरु अंग्रेजी भाषामा भएकाले र बैदेशिक रोजगारमा जाँदा समेत अंग्रेजी जान्दा सहज हुने बिश्वास गरियो । यहि पृष्ठभूमीमा नीजि शिक्षालयहरुको उर्वरता मौलाएको देखिन्छ । बिस्तारै, महँगा स्कूलमा छोराछोरी पढाउँदा समाजमा ईज्जत, मर्यादा र प्रतिष्ठा बढने बिश्वासले जरा गाडेको पाईन्छ । अहिले सरकारी स्कूलमा अंग्रेजी माध्यम नगर्ने हो भने करिब असी प्रतिशत सरकारी स्कूलहरु बन्द हुनेछन् भन्दा अत्युक्ति नहोला । त्यस्तै, पूर्व प्राथमिक तहमा प्ले गु्रप, मन्टेश्वरी, नर्सरी, एल केजी, यु केजी जस्ता कक्षाहरु सरकारी स्कूलमा विद्यार्थीको संख्याकै लागि शुरु गरिएका छन् । यस्ता विद्यार्थीका अभिभावकहरुबाट निश्चित शुल्क लिएर नीजि श्रोतका शिक्षक कर्मचारी नियुक्त नगर्ने हो भने पनि सरकारी स्कूलहरु रित्तिने कुरामा शंका छैन ।
६. विद्यार्थी खोज्न शिक्षकहरु घरदैलोमा छन् । विद्यार्थीका लागि आकर्षणका कुराहरु लिएर निशुल्कका नारा, किताब फ्रि, स्टेशनरी फ्रि, ड्रेस फ्रि, खाजा ब्यवस्था, बस सुबिधा, अत्याधुनिक ल्याव, कम्प्युटर, ल्यापटप ब्यवस्था, खेलकुद प्राथमिकता,अतिरिक्त क्रियाकलाप दिनै पिच्छे, घरमा बसेर मोबाईलबाट आफ्ना बाबुनानीहरुको सबै गतिविधि हेर्न सकिने,यस्ता अनेकौं प्याकेजका साथ ब्यानर सहित गाडीमा विद्यार्थी भर्नाका झाँकीहरु प्रत्येक घरघर पुगेर विद्यार्थी माग्दै अनुनय विनय गरिरहेका दृष्य हामी सबैले हेरीरहेका छौं । अर्कोतर्फ, भर्ना हुन आएका विद्यार्थी सबै भर्ना गर्न नसक्ने सरकारी स्कूलहरु हामीले भुल्नु हुँदैंन । उदाहरणका लागि–रुपन्देहीका कालिका मानव ज्ञान मा.वि.बुटवल, शान्ती नमुना मा.वि.तिलोत्तमा, कान्ती मा.वि.बुटवल,नविन औद्योगिक मा.वि.देवीनगर, त्यस्तै काठमाडौंका ज्ञानोदय मा.वि.बाफल,विश्व निकेतन मा.वि.त्रिपुरेश्वर, धनुषाको जनता मोडेल मा.वि.बेलापट्टी, संकट मोचन मा.वि.शान्तीनगर, पर्साको त्रिजुद्ध मा.वि.बिर्ता, मोर¨को सुकुना मा.वि. सुन्दरहरैचा, चितवनको पद्योदय मा.वि.भरतपुर, नारायणी नमुना मा.वि.भरतपुर, कपिलवस्तुको नेपाल आदर्श मा.वि.शिवपुर, मकवानपुरका आधुनिक राष्ट्रिय मा.वि.हेटौंडा, भुटन देवी मा.वि.हेटौंडा, सिद्धार्थ मा.वि.हेटौंडा जस्ता स्कूलहरुमा भर्नाहुन चाहने मध्ये एक तिहाई पनि भर्ना गर्न नसकेर प्रवेश परीक्षा लिई छनौट गर्नु पर्ने अवस्था छ । यी शिक्षालयहरु विद्यार्थी खोज्न स्कूल कम्पाउड बाहिर निस्कनु पर्दैन ।
७. अन्तमा, उल्लेखित अवस्थाहरुको गहिराई भेटेर सुक्ष्म विश्लेषण गर्न जरुरी छ । एकातर्फ जति जना शिक्षक त्यति जना विद्यार्थी अनि अर्को तर्फ भर्ना हुन आएका विद्यार्थी प्रवेश नपाएर रुन्चे अनुहार बनाउदैं फर्किएका अवस्थाको मुल जरोमा पुग्नै पर्दछ । हामी वर्तमानको शिक्षा ब्यवस्थामा आमूल परिवर्तनका कुरा गरेर थाक्दैंनौ तर समस्याका पहिचान, निदान र उपचारका सबालमा पर्याप्त गम्भिर नबनेकै कारणले हाल विद्यार्थी भर्नामा महँगा विज्ञापन सहित ठूलै तामझाम गर्दा पनि अपेक्षित उपलब्धि भै रहेको छैन् । समस्या देखाउने मात्र हैन यदि जिम्मेवार अ¨ले समाधानको प्रतिवद्धता जनाउने हो भने हामी उपाय सहित प्रस्तुत हुनेछौं ।