हेटौँडाः हेटौँडा उपमहानगरपालिकाले एक पटक भर्ना भएका विद्यार्थीसँग पुनः भर्ना शूल्क नलिन सूचित गरेको छ । मंगलबार एक सूचना जारी गरेर उपमहानगरले सबै विद्यालयलाई भर्ना शूल्न नलिन भनेको हो ।
हेटौँडा उपमहानगरपालिकाको निमित्त प्रमुख प्रशासकीय अधिकृत सीताराम कोइरालाले सोमबारको मितिमा हस्ताक्षर गर्नुभएको सूचना हेटौँडा उपमहानगरपालिकाले सामाजिक सञ्जाल मार्फत मंगलबार सार्वजनिक गरेको छ । पुराना विद्यार्थी एउटा कक्षा उत्तीर्ण भएर माथिल्लो कक्षामा जाँदै गर्दा भर्ना शूल्न लिन नपाउने व्यवस्था हेटौँडा उपमहानगरपालिकाको शिक्षा ऐनमा रहेको छ ।
“हेटौँडा उपमहानगरपालिकाको शिक्षा ऐन २०७४ को दफा २८ को उपदफा ५ मा विद्यालयले विद्यार्थीलाई कुनै कक्षामा भर्ना गर्दा एकपटक भर्ना शूल्क लिइसकेपछि पुनः सोही विद्यालयको अर्को कक्ष्ाँमा भर्ना गर्नका लागि कुनै किसिमको शूल्क लिन पाउने छैन” भन्ने प्रावधान रहेको सूचनामा उल्लेख गरिएको छ । यदि भर्ना शूल्क भनेर कुनै विद्यालयले लिएको भए भर्ना शूल्क फिर्ता गर्न वा मासिक शूल्कमा मिलान गर्न शिक्षा विकास महाशाखाका प्रमुख समेत रहनुभएका निमित्त प्रमुख प्रशासकीय अधिकृत कोइरालाले बताउनुभएको छ ।
अभिभावकको गुनासो व्यापकरुपमा आइरहेको र अभिभावकको गुनासोकै आधारमा सूचना जारी गरिएको कोइरालाको भनाई छ । विद्यालयले पुराना विद्यार्थीलाई भर्ना शूल्क लिए, नलिएको भनी अनुगमन समेत गरिने उहाँले स्पष्ट पार्नुभएको छ ।