नवनिर्वाचित कार्य समितकिो तस्वीर ।

हेटौँडाः हेटौँडा–१४, मयूरधापस्थित जनज्योति माविको विद्यालय व्यवस्थापन समिति अध्यक्षमा २ कक्षाका विद्यार्थी आर्नभ ढुंगानाका बुबा रामचन्द्र ढुंगाना चयन हुनुभएको छ । सोमबार बिहान बसेको विद्यालय व्यवस्थापन समितिको बैठकले ढुंगानालाई दोस्रो कार्यकालका लागि सर्वसम्मत अध्यक्ष चयन गरेको हो ।

शनिबार भएको ३५ औं अभिभावक भेलाबाट ढुंगानासहित केदार थिङ, सोवी लामा र सञ्चमाया घलान व्यवस्थापन समिति सदस्य चयन भएका थिए । आइतबार बसेको व्यवस्थापन समितिको बैठकले कविता भण्डारी र विष्णुमाया घलानलाई सदस्यमा मनोनित गरेको थियो । व्यवस्थापन समितिमा वडाबाट वडाअध्यक्ष दीपक खड्का र शिक्षक प्रतिनिधि धनलाल बिक चयन हुनुभएको छ ।

कक्षा १२ सम्म पठनपाठन हुने जनज्योति माविमा शैक्षिक सत्र २०८० मा ६ सय १२ जना विद्यार्थी भर्ना भएका थिए । वार्षिक परीक्षामा कक्षा–१० सम्म ५ सय २१ जना विद्यार्थीले सहभागी भएको जानकारी गराउनुहुँदै विद्यालयका प्रधानाध्यापक भोगेन्द्र लुइटेलले ११ कक्षाका २७ जना र १२ कक्षाका २५ जना विद्यार्थीले वार्षिक परीक्षाको तयारी गरिरहेका छन् । चालु शैक्षिक सत्र २०८१ मा ७ सय ५० जना विद्यार्थी भर्ना गर्ने लक्ष्य रहेको नवनिर्वाचत अध्यक्ष ढुंगानाले बताउनुभएको छ ।