हेटौँडाः हेटौँडा उपमहानगरपालिका–१४, मयूरधापस्थित जनज्योति माविको विद्यालय व्यवस्थापन समितिमा नयाँ सदस्यहरु चयन भएका छन् । शनिबार सम्पन्न २५ औं अभिभावक भेलाबाट अभिभावक मध्येबाट चार जना सदस्य सर्वसम्मतरुपमा चयन भएका छन् ।
अभिभावक भेलाबाट चयन भएका सदस्यहरुमा निवर्तमान विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामचन्द्र ढुङ्गाना, केदार थिङ, सोवी लामा र सञ्चमाया घलान रहेका छन् । बाँकी दुई जना सदस्य वडाका जनप्रतिनिधि, प्रधानाध्यापक र चयन भएका समितिका सदस्यहरुको उपस्थितिमा बैठक बसेर मनोनित गरिनेछ । उक्त समितिले व्यवस्थापन समितिको अध्यक्ष चयन गर्नेछ ।
नयाँ समितिको कार्यकाल ३ वर्षको हुनेछ । व्यवस्थापन समितिका अध्यक्ष रामचन्द्र ढुङ्गानाको सभाध्यक्ष तथा हेटौंडा–१४ का वडाध्यक्ष दीपक खड्काको प्रमुख आतिथ्यमा अभिभावक भेला भएको हो । भेलामा विद्यालयका प्रधानाध्यापक भोगेन्द्र लुईंटेलले विद्यालयको शैक्षिक तथा प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभयो भने लेखापाल सनिज वाईबाले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभयो । प्रस्तुत भएका प्रतिवेदनहरु भेलाबाट पारित भएको छ ।
कक्षा १२ सम्म अध्ययन अध्यापन हुने विद्यालयमा ६ सय १२ जना विद्यार्थी अध्ययनरत छन् । यस वर्षको शैक्षिक सत्रमा एक सय जना नयाँ विद्यार्थी थप गर्ने गरी विद्यालयले भर्ना अभियान चलाइरहेको विद्यालयका प्रधानाध्यापक लुईंटेलले जानकारी दिनुभयो । विद्यालयले बैशाख १० गतेसम्म विद्यार्थी भर्ना कार्यक्रम राखेको र बैशाख ११ गतेदेखि पठनपाठन सुरु गर्ने उहाँले बताउनुभयो ।